आँबुखैरेनी । मोहम्मद जयन्तीको अवसरमा आँबुखैरेनी मुस्लिम समाजले आज आँबुखैरेनी अस्पतालका बिरामी र कृष्णप्रणामी मन्दिरको वृद्वाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ ।

मुस्लिम धर्मावलम्बीको विशेष पर्व १२ रबी अव्वल (पैगम्बर मोहम्मदको जन्मदिन) को अवसरमा एक कार्यक्रमका बिच सो अस्पतालका बिरामीहरु र वृद्वाश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरिएको समाजका अध्यक्ष मोहम्मद रफिले जानकारी दिए ।

उक्त पर्वका अवसरमा मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मद डे लाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने गरेका मुस्लिम अगुवाहरू बताउँछन् ।