Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

चितवनमै इच्छाकामनाको सिराइचुलीमा फुल्छ लालिगुराँस

चितवनमै इच्छाकामनाको सिराइचुलीमा फुल्छ लालिगुराँस

images

इच्छाकामना न्युज

१९, चैत्र २०७९
चितवनमै इच्छाकामनाको सिराइचुलीमा फुल्छ लालिगुराँस
images

सिराइचुली । चितवन जिल्ला पहाडदेखि तराईसम्म छोएको भूगोलमा समाहित जिल्ला भएकोले समथर ठाउँमा तोरीमात्रै नभएर पहाडमा लालीगुराँस पनि फुल्छ । यतिखेर जिल्लाको पहाडी भेगमा ढकमक्क लालीगुराँस फुलेका छन् ।

सिराइचुली, उपरदाङगढी र इच्छाकामना मन्दिरआसपासका क्षेत्र लालीगुराँस फुल्ने क्षेत्र हुन्, जुन इच्छाकामना गाउँपालिकाको वडा नं–१, ५ र ७ मा पर्छ । गोलाघाटमा हुने गर्मी छल्नका लागि पनि मानिसहरु लालीगुराँस फुल्ने तिनै डाँडामा रमाउन पुग्छन् । फागुनदेखि वैशाखसम्म लालीगुराँस फुल्ने मौसम भएकोले गुराँस हेर्न पनि ती ठाउँ घुम्न रूचाउने जमातको कमी छैन ।

तर, लालीगुराँस संरक्षणमा भने चुनौती देखिएको छ । स्थानीयले पनि लालीगुराँस संरक्षणका लागि प्रयास गरिरहेका छन् । तर, सोचेजस्तो सफलता पाउन नसकेको उनीहरुको भनाइ छ । ‘सिराइचुली आउने आगन्तुकले लालीगुराँस हेर्न चाहने हुँदा हामीले पटकपटकसम्म लालीगुराँसको बिरूवा रोप्ने अभियान चलायौँ, तर सरेन’, सिराइचुलीको काखमा रहेको ज्यानदाला गाउँका होमबहादुर चेपाङले भने । भएका बिरूवा पनि मासिँदै जान थालेपछि यहाँका स्थानीय लालीगुराँस मासिने चिन्तामा छन् ।

सिराइचुली डाँडो उक्लिँदै गर्दा लालीगुराँसभन्दा बाँझोको रुख बढी देखिन्छन् । ‘भएका लालीगुराँस पनि सकिँदै गए, अहिले बाँझोको रुखमात्रै देखिन्छन्’, उनी भन्छन्, ‘हामीले तीन÷चारपटक नै रोप्यौँ, तर सबै म¥यो । कामै लागेन ।’ सुक्खा डाँडा र रूखो माटो भएकोले पनि बिरूवा नसरेको उनको अनुमान छ । ‘लालीगुराँसलाई यहीँ उमार्न पनि सकिएन । बाहिरबाट ल्याएको बिरूवा पनि काम लागेन’, उनी भन्छन् । लालीगुराँस सिराइचुलीको गहना पनि हो, त्यसैले यहाँका स्थानीय लालीगुराँस संरक्षण गर्ने उपाय सोच्दैछन् ।

अर्का स्थानीय घनबहादुर चेपाङ भने डाँडामा पानीको स्रोत नभएकोले सार्न असफल भएको तर्क गर्छन् । ‘त्यति माथि पानी बोकेर हाल्न सक्ने कुरो पनि भएन । त्यही भएर मरेको होला’, उनले अनुमान लगाए । बिहान रोपेको बिरूवा दिनभरि पानी नपाएपछि मर्न सक्ने उनको भनाइ छ । ‘हामीले उत्तिस र लालीगुराँस रोपेर हुर्काउने प्रयास ग¥यौँ, तर सोचेजस्तो भएन’, उनी भन्छन् ।

बर्सेनि लाग्ने डढेलोले गर्दा रुखबिरूवा मासिँदै गएपछि गाउँलेले सिराइचुली डाँडोमा आगो लगाउन प्रतिबन्ध नै लगाए । उनका अनुसार गाउँलेको यो योजनाले तीन वर्षसम्म निरन्तरता पायो । तर, तीन वर्षपछि यसपालि फेरि आगो लाग्यो । र, डाँडो फेरि कालै भएको छ । ‘हामीले तीन वर्षसम्म त जोगायौँ, तर यसपालि कुनचाहिँले झुक्यायो’, उनी भन्छन्, ‘आगो लागिसकेपछि निभाउन सक्ने सम्भावना पनि छैन । सबै खायो ।’

स्थानीयले संरक्षण गरे पनि बाहिरबाट आउने आगन्तुकबाट कमीकमजोरी हुन सक्ने उनीहरुको सोचाइ छ । ‘हामीले गाउँमा कसैलाई पनि डढेलो नलगाउनू, कसैले आगो लगाएको थाहा पाए कारबाही गर्छौं भनेका छौँ’, होमबहादुरले भने, ‘त्यसैले गाउँलेबाट यस्तो काम भएको छैन भन्ने हामीलाई लागेको छ ।’ डाँडाबाट दृश्य हेर्नकै लागि हरेक दिनजसो चुली उक्लिेनेको संख्या बाक्लिँदै गएको उनी बताउँछन् । ‘सिराइचुली हाम्रो यो ठाउँको मात्र नभई समग्र जिल्लाकै गहना हो’, उनी भन्छन्, ‘यसको संरक्षण गरेर आगन्तुकलाई जति बोलाउन सकियो त्यति नै यो ठाउँलाई पनि फाइदा हुने हो ।’

स्थानीयका अनुसार यसपालि भएका बोटमा पनि कम फुलेका छन्, लालीगुराँस । ‘पोहोरतिर अलि धेरै फुल्थ्यो, यसपालि त खै किन हो अलि कम फुल्यो’, सुस्मिता चेपाङ भन्छिन्, ‘भएको रुखमा पनि राम्रैसँग फुल्यो भने त जंगल नै रातो देखिन्थ्यो ।’ चुलीको डाँडोमा बिरूवा हुर्काउन नसके पनि गाउँआसपासको क्षेत्रमा पनि लालीगुराँसको बिरूवा भएकोले त्यसैलाई संरक्षण गर्न सके पनि चुलीको गरिमा बढ्ने उनको बुझाइ छ ।

योजना बनाउँदै गाउँपालिका

इच्छाकामना गाउँपालिकाले पनि स्थानीयको सोचअनुसार योजना बनाएको बताएको छ । पालिकाका अध्यक्ष दानबहादुुर गुरूङका अनुसार लालीगुराँस फुल्ने तीनवटै ऐतिहासिक क्षेत्रमा बिरूवा उत्पादन गरेर वृक्षरोपण गर्ने योजना गाउँपालिकाले अघि सारेको छ । स्थानीयले गरेको प्रयास सफल नभए पनि ब्याड बनाएर बीउ उमार्न सके त्यसबाट सफलता पाउन सकिन्थ्यो कि भन्ने सोचमा पालिकाले योजना बनाएको अध्यक्ष गुरूङले बताए ।

‘बिरूवा उखेलेर रोप्दा नसर्ने कुरा आएको छ’, उनले भने, ‘त्यसैले नर्सरी नै बनाएर उमार्न सके त्योचाहिँ प्रभावकारी हुन्थ्यो कि भन्ने लागेको छ ।’ लालीगुराँस फुल्ने क्षेत्र सबै इच्छाकामना गाउँपालिकाभित्र पर्ने हुँदा समग्र गाउँपालिकालाई लालीगुराँसको परिचयबाट चिनाउन सकिने उनको भनाइ छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - ०९:०७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology