आँबुखैरेनी । तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित आमडाँडा र खस्राङ गाउँ जोड्न आधिखोलामा दोभानमा नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । कादूरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो ।
नव निर्मित पुलको गाउँपालिका अध्यक्ष शुक्र चुमानले मंगलबार एक कार्यक्रमका बीच उदघाटन गरेका छन् । पुल उद्घाटन गर्दै अध्यक्ष चुमानले पुल निर्माण पश्चात सर्वसाधारण नागरिकहरुलाई आवतजावतमा सहज हुने भएकोले संरक्षण कार्यमा जोड दिनुपर्ने बताए ।

पुल निर्माणका लागि कादूरी संस्थाले ७७ लाख ११ हजार ५ सय १९ रुपैयाँ र उपभोक्ताहरुको तर्फबाट १ लाख ५३ हजार रुपैयाँ बराबरको जनश्रमदान गरी कूल ७८ लाख ६४ हजार ५ सय १९ रुपैयाँ लागत खर्च गरिएको छ ।
विसं २०७७ असोज १५ गते सर्वेक्षण गरी ०७९ कार्तिक १७ मा योजनाको निर्माण कार्य सुरु गरीएको पुल ०७९ फागुन १८ गते सम्पन्न भएको आँधीखोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण योजनाका अध्यक्ष इनबहादुर गुरुङले जानकारी दिए ।
८६ मीटर लामो दुरीको उक्त पुल निर्माण पश्चात त्यसक्षेत्रका करिब १ हजार जनसंख्या लाभान्वित हुने अध्यक्ष गुरुङले बताए । उक्त स्थानमा पुल नहुँदा सर्वसाधारणहरुले कठिन यात्रा गर्दै आएकोमा आउँदा दिनमा सहज हुने बिश्वास गरिएको छ ।