आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा २०७८ सालको जनगणना अनुसार पुरुषको भन्दा महिलाको संख्या बढि रहेको पाईएको छ । राष्ट्रिय तथ्याङ्क आयोगले २०७८ मा गरेको जनगणना अनुसार आज प्रकाशन गरेको अन्तिम जनसंख्या विवरण अनुसार गाउँपालिकामा करिब १ हजार १८ ले पुरुषको भन्दा महिलाको संख्या बढि रहेको पाईएको हो ।
विवरणमा उल्लेख भएअनुसार आँबुखैरेनीमा पुरुषको संख्या १० हजार ६ सय १७ रहेको पाईएको छ भने महिलाको संख्या ११ हजार ६ सय ३५ रहेको पाईएको थियो । २०७८ को जनगणना अनुसार आँबुखैरेनीको यसअघि भन्दा जनसंख्या १ हजार ४ सय ८४ ले बढेर २२ हजार २ सय ५२ पुगेको छ । तर १० वर्ष अघि २०६८ को जनगणना अनुसार २० हजार ७ सय ६८ मात्र रहेको थियो । जनसंख्या वृद्विदर ०.६६ प्रतिशत छ ।
जनगणना अनुसार आँबुखैरेनीमा परिवार संख्या पनि बढेको पाईएको छ । जसमा २०६८ मा ४ हजार ९ सय ११ परिवार रहेको गाउँपालिकामा १० वर्षपछि १ हजार २ सय २५ परिवार बढेर २०७८ मा ६ हजार १ सय ३६ पुगेको पाईएको छ ।
यस्तै समग्र गाउँपालिकाको साक्षरता प्रतिशत ८२.०९ प्रतिशत छ जसमा पुरुष साक्षरता प्रतिशत ८८.०४ र महिला साक्षरता प्रतिशत ७६.७७ रहेको छ । यसरी हेर्दा आँबुखैरेनीमा पुरुषको भन्दा महिलाको साक्षरता प्रतिशत कमजोर देखिन्छ ।