Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीको एउटा यस्तो गाउँ जहाँ सडकको पहुँच नहुदाँ सुत्केरीलाई अस्पताल लैजान डोलीमा बोक्नुपर्ने बाध्यता

आँबुखैरेनीको एउटा यस्तो गाउँ जहाँ सडकको पहुँच नहुदाँ सुत्केरीलाई अस्पताल लैजान डोलीमा बोक्नुपर्ने बाध्यता

आँबुखैरेनी ४ को आमडाँडा, खस्राङ, दुवा बेलडाँडा लगायतको गाउँमा मोटरबाटो नहुदाँ स्थानीयलाई सास्ती

images

इच्छाकामना न्युज

९, चैत्र २०७९
आँबुखैरेनीको एउटा यस्तो गाउँ जहाँ सडकको पहुँच नहुदाँ सुत्केरीलाई अस्पताल लैजान डोलीमा बोक्नुपर्ने बाध्यता
images

आँबुखैरेनी । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ । तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन ।

तनहुँको आँबुखैरेनी गाउँपालिका ४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर गुड्ने सडकको पहुँचबाट टाढै छ । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ ।

सुत्केरी वा विरामी हुँदा डोली वा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका ४ का वडा सदस्य प्रेमबहादुर गुरुङ बताउनुहुन्छ । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एक–दुई घण्टा पैदल हिँड्नुपर्छ । ‘गाउँसम्म जाने मोटरबाटो छैन, सुत्केरी हुँदा र बिरामी पर्दा यहाँका स्थानीयलाई सास्ती छ,’ –गुरुङले भन्नुभयो, ‘डोली बोकेर लैजानुको विकल्प छैन ।’ वडाकै अन्य गाउँमा मोटरबाटोको पहुँच पुगेपनि यी गाउँ वर्षौदेखि मोटरबाटोको पहुँचबाट टाढा रहेको गुरुङको भनाइ छ ।

सुत्केरी हुँदा हिँडेर भरतपुर महानगरपालिकाको पाँचकिलोसम्म आउनुपर्छ । त्रिशूली नदीको पार गरेपछि मात्रै मुग्लिन–नारायणगढ खण्डको पाँचकिलो पुगिन्छ । त्यहाँ पुगेपछि मात्रै सवारी साधनको प्रयोग गर्न सकिने गुरुङले बताउनुभयो ।

अरु बेला पनि यहाँका स्थानीय यही पुल तरेर पैदल नै गाउँ आउँजाउ जाने गर्दछन् । ‘बजारमा किनमेल गर्न जान परेपनि समस्या उहीँ हो, पाँचकिलो झरेर मुग्लिन, चितवन वा आँबुखैरेनी जानुपर्छ’, –गुरुङले भन्नुभयो, ‘यो गाउँका बारेमा सबैलाई जानकारी भए पनि अहिलेसम्म प्राथमिकतामा परेको छैन ।’

336989373_1623258011480512_1536770600722085576_n.jpg

सोमबार आमडाँडा निवासी सुत्केरी हीरा गुरुङलाई डोलीमा राखेर आँबुखैरेनी अस्पतालसम्म पु¥याइएको थियो । उहाँलाई डोलीमा हालेर दुई घण्टा पैदल हिँडेपछि पाँचकिलोमा एम्बुलेन्स बोलाएर आँबुखैरेनी अस्पताल लगिएको थियो । ‘पहिले भरतपुर लैजानुपथ्र्यो, अहिले गाउँपालिकाले आफैले आँबुखैरेनी अस्पताल सञ्चालन गरेपछि भने त्यही लैजाने गरेका छाँ,’ उहाँले भन्नुभयो ।

सुत्केरी भएपछि पुनः उहाँलाई त्यसरी नै बोकेर घर पुर्‍याइएको थियो । ‘घर फर्किने बेलामा पनि आँबुखैरेनी अस्पतालबाट पाँचकिलोसम्म एम्बुलेन्समा ल्यायौं, त्यहाँबाट झोलुङ्गे पुल तरेपछि पुनः डोलीमा राखेर दुई घण्टा हिँडेर घर पुर्‍यायौं,’ –उहाँले भन्नुभयो ।

मोटरबाटोको पहुँच नपुगेको ती ठाउँमा मोटरबाटो पु¥याउनका लागि आवश्यक बजेट विनियोजनका लागि गाउँसभामा कुरा उठाएको गुरुङले बताउनुभयो । “जनतालाई निकै सास्ती छ, जनताको आवाज गाउँसभासम्म पु¥याए पनि सुनुवाइ हुनसकेको छैन,” गुरुङले भन्नुभयो ।
्र
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पुलजीपतर्फबाट उक्त गाउँमा मोटर चल्ने भए पनि बाटोको समस्याका कारण सवारी साधन नियमित नचल्दा दुख हुने गरेको बताउनुभयो । ‘त्यस भेगका सर्वसाधारणलाई पुलजीपतर्फ आउनभन्दा मुग्लिन नारायणगढखण्डको पाँचकिलो झर्न चाँडै हुन्छ, पुलजीपतर्फको बाटो अप्ठ्यारो भएकाले नियमित गाडी नचल्दा जनतालाई सास्ती भएको छ,’ –उहाँले भन्नुभयो ।
घुमाउने र मुग्लिनको बीचभागमा पक्की पुल नहुँदा सर्वसाधारणलाई सास्ती भएको चुमानले बताउनुभयो । ‘त्यस भेगका जनतालाई पाँचकिलो झरेर मुग्लिन, नारायणगढ जान पायक पर्छ’, –उहाँले भन्नुभयो, ‘पक्की पुल नभएकाले पनि डोलीमा बोकेर आउनुपर्ने बाध्यता हो ।’
उहाँका अनुसार त्यसभेगका सर्वसाधारण पुलजीप हुँदै आउनुभन्दा नारायणढ मुग्लिन सडकमा झर्न चाँडै हुन्छ । ‘उक्त ठाउँमा सडक निर्माणका लागि डिपिआर अनुसार रु एक अर्बको हाराहारीमा बजेट चाहिन्छ, गाउँपालिकाले मात्रै निर्माण गर्न सक्दैन,’ –उहाँले भन्नुभयो, ‘प्रदेश र सङ्घ सरकारको सहयोग बिना यो सम्भव पनि छैन ।’

चुमानले आफ्नै कार्यकालमा यो सडकमा गाडी चल्ने र कालोपत्रे गर्ने दाबी गर्नुभयो ।

images
प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - २०:०९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology