आँबुखैरेनी । मुग्लिन पोखरा सडक स्तरोन्नतिको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्शन कम्पनी(सीसीसीसी)ले नदीको प्राकृतिक स्वरुपमा नकारात्मक प्रभाव पर्ने गरी मस्र्याङ्दीको मूल प्रवाहमै एक्साभेटर लगाएर ढुंगा, गिटी, बालुवा उत्खनन गरेको छ । स्थानीय पालिकाहरुसंग गरिएको द्विपक्षीय सम्झौता तथा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन(आईईई) विपरीत मस्र्याङ्दीका धेरै घाटहरुमा मूल प्रवाहमा एक्साभेटर प्रयोग गरी उत्खनन गरेको हो ।
सो कम्पनीले अनियन्त्रित रुपमा मूल प्रवाहमा मेसिन लगाएपछि अहिले र आगामि दिनमा नदीको मूल प्रवाहमा एक्साभेटर लगाएर अवैध रुपमा उत्खनन गर्नका लागि पनि गतिलो ‘नजिर’ बनेको छ ।
ढुंगा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा नदीले थुपारेको नदीजन्य सामग्रीमात्र उत्खनन गर्न पाउने उल्लेख छ । तर सीसीसीसी कम्पनीले मुग्लिन पोखरा सडक स्तरोन्नति आयोजना कार्यालयको आडमा नदीको मध्यभागमा एक्साभेटर लगाएर दुईदेखि तीन मिटर गहिरो बनाई ढुंगा, गिटी, बालुवा निकालिएको छ । यसले गर्दा नदी कुरुप बनेको छ भने बर्खाका बेला आसपासका क्षेत्रमा जोखिम हुने खतरा बढेको छ ।
नदी किनारमा थुप्रिएका ढुंगा, गिटी, बालुवा मात्र उत्खनन गर्न पाउने उल्लेख भए पनि नदीको मूल प्रबाहबाट उत्खनन गर्नु दुखद भएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख नानीबाबु पोखरेल बताउँछन् । ‘उनीहरुले आईईई प्रतिवेदन देखाए पनि नदीको मूल प्रबाहमा मेसिन हाल्न पाउनुपर्छ भन्ने त आईईईमा उल्लेख भएको हुदैन’, उनले भने, ‘आईईई गरिएको ठाउँका सीमा निर्धारण गरिएको हुन्छ । त्यसमा पानी बग्ने भाग त छुनै मिल्दैन । हामी जिल्ला अनुगमन समितिले यथासीघ्र अनुगमन गर्नेछौँ ।’
दुई जिल्लाको बीचबाट उत्खनन गर्न संयुक्त निरीक्षण टोली हुनुपर्ने, उत्खनन स्थलमा सूचना पार्टी राखिएको हुनुपर्ने, दैनिक पटके बिक्री तथा ढुवानी अभिलेख तेरिज हुनुपर्ने व्यवस्था भए पनि यहाँ मापदण्ड बिपरीत बेपर्वाह रुपमा उत्खनन भइरहेको छ ।
सीसीसीसी कम्पनीले तनहूँको आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, गोरखाको गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकाको क्षेत्रमा पर्ने नदीजन्य सामग्री उत्खनन गर्न अनुमति लिएको छ ।
कम्पनीले आँबुखैरेनी गाउँपालिकाबाट ४५ हजार ३१३ घनमिटर, भानु नगरपालिकाबाट छ हजार ५६८ घनमिटर, पालुङ्टार नगरपालिकाबाट १० हजार घनमिटर, गोरखा नगरपालिकाबाट दुईलाख २९ हजार ६४० घनफिट ढुंगा, गिटी, बालुवा उत्खननको अनुमति लिएको पालिकाहरुले जनाएका छन् ।
पालुङ्टार, भानु र आँबुखैरेनीका घाटहरुमा सिधै सीसीसीसी कम्पनीले दोहन गरेको छ भने गोरखा नगरपालिकाका बिभिन्न घाटबाट नीजि कम्पनीले उत्खनन गरी ढुंगा, गिटी, बालुवा सीसीसीसी कम्पनीलाई उपलब्ध गराएका छन् ।
आँबुखैरेनी गाउँपालिका र कम्पनी बीच भएको द्विपक्षीय सम्झौताको बुँदा नं १५ मा नदीजन्य पदार्थको ढुवानी र उत्खनन गर्दा भौगोलिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक असन्तुलनका मापदण्डहरू अपनाउनुपर्छ भन्ने उल्लेख छ । त्यस्तै बुँदा नं. १७ मा उत्खनन कार्य नजिकको बाटो, नदी किनारका साथै सार्वजनिक सम्पत्ति जस्तै घर, जग्गा खोला, खानेपानी मार्गमा कुनै बाधा नपर्ने गरी सञ्चालन गर्नुपर्छ भनिएको छ । बुँदा नं. २२ मा काम सम्पन्न भएपछि सबै प्रयोग नगरिएका निर्माण सामग्रीहरू पहिलेको ठाउँमा पुनस्र्थापित गर्नुपर्छ र नदीले दिशा परिवर्तन गर्ने तरिकाले उत्खनन गर्नु हुँदैन भनिएको छ । त्यस्तै बुँदा नं. २४ मा पनि सम्झौता बमोजिम काम गर्दा दोस्रो पक्षले वातावरणलाई हानी नपुग्ने गरी काम गर्नुपर्ने उल्लेख छ ।
तर कम्पनीले द्विपक्षीय सम्झौता र आईईई रिपोर्टलाई लत्याउँदै नदीको बहाव क्षेत्रबाट मापदण्डमा तोकिएभन्दा गहिरो गरी नदीजन्य सामग्री उत्खनन भइरहेको छ । अनियन्त्रित दोहनले तनहुँ र गोरखा सीमा क्षेत्रको मस्र्याङ्दी नदी कुरूप बनेको छ । मापदण्ड र सम्झौताविपरीत तीन सातायता मनमौजी दोहन बढ्न थालेको हो । पहिलो पक्ष भनिएका स्थानीय पालिकाहरु र गोरखा र तनहूँका जिल्ला अनुगमन समितिहरु पनि मौन छन् ।
चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आफूलाई सजिलोका लागि पालिकाहरुलाई पत्राचार गर्दै आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय अध्ययन(आईईई) प्रतिवेदनमा उल्लेख भएबमोजिम नदीजन्य सामग्री निकाल्न एक्स्काभेटर, ब्याकहुलोडरलगायत हेभी इक्विप्मेण्ट प्रयोग गर्न अनुमतिका लागि पत्र पठाएको थियो । माग भएबमोजिम पालिकाहरुले एक्स्काभेटर प्रयोगको अनुमति दिएसँगै अनियन्त्रित उत्खनन बढेको हो ।
नदीको दोहन बढेपछि स्थानीयबासीले बिरोध गरेका छन् । तर पालिकाहरुले भने राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई विशेष अधिकार छ भन्ने जवाफ दिने गरेको छ । उत्खनन भएका सबै ठाउँमा चेनवाला एक्साभेटर प्रयोग भएका छन् ।
आईईई रिपोर्टमा दुई मिटरभन्दा गहिरो खन्न नपाइने उल्लेख छ । तर शाहघाटमा नदी बहाव क्षेत्रमै दुईदेखि तीनमिटर गहिरो गरी उत्खनन भइरहेको छ । दरौदीं दैनिकबाट