आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सातौं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने आँबुखैरेनीका दर्जनौ व्यक्तिहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने प्रथम डाक्टर राजाराम श्रेष्ठ, रामशाह माध्यमिक विद्यालयका प्रथम संस्थापक भगवान दास मल्ल, आँबुखैरेनी गाउँ पञ्चायतका संस्थापक अध्यक्ष खगेन्द्र अधिकारी, आँबुखैरेनी गाउँ विकास समितिका संस्थापक अध्यक्ष कमल नारायण श्रेष्ठ, गाउँपालिकाका प्रथम अध्यक्ष गिरबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाबाट गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायामन्त्री बन्न सफल हरिबहादुर चुमान, नेपालमा पहिलो फुटसल भित्र्याउन सफल विनोद गुरुङ, खेलकुदमा विशेष योगदान दिने खेलाडी सन्तबहादुर गुरुङ, बक्सिङ खेलाडी अनिल गुरुङ, सगरमाथा आरोही प्रकाश गुरुङ, सैलुन सञ्चालक राम श्रेष्ठ, प्रथम महिला अप्रेटर मुना घिमिरे रहेका छन् ।

त्यस्तै आँबुखैरेनीमा सामुदायिक विद्यालयको स्थापना गरी शिक्षाको ज्योति फैलाउने शिक्षाप्रेमी स्व. नरबहादुर बाचे मगर, हाडजोर्नी डाक्टर प्रफुल्ल श्रेष्ठ, औषधी कम्पनीका प्रबन्ध निर्देशक निगम अधिकारी, रामशाह माविका प्रधानाध्यापक प्रेमराज लामिछाने र आँबुखैरेनी क्याम्पसका संस्थापक प्राध्यापक ऋषि केसीलाई सम्मान गरिएको छ ।
उनीहरुलाई सञ्चार सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, गाउँपालिकाका अध्यक्ष शुक्र चुमान लगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । सम्मानित हुनेहरुलाई जनही १० हजार प्रदान गरिएको छ ।