तनहुँ । योङ कम्युनिष्ट लिग (वाइसिएल) तनहुँको आयोजनामा दमौलीमा जारी प्रथम शहीद स्मृति कप भलिबल प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज भएका खेलमा आँबुखैरेनी गाउँपालिका सहित म्याग्दे, बन्दीपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिका विजयी भएका हुन् ।
प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका र आयोजक टिमबीच भएको खेलमा आँबुखैरेनी २–१ सेटले विजयी भएको छ भने शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिका (ख) बीच भएको तेस्रो खेलमा शुक्लागण्डकी २–१ सेटले विजयी भएको छ ।
म्याग्दे गाउँपालिका र व्यास नगरपालिका (क) बीच भएको पहिलो खेलमा म्याग्दे २–१ सेटले विजयी भएको छ । बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाबीच भएको दोस्रो खेलमा बन्दीपुर २–१ सेटले विजयी भएको छ ।
गोरखाका शहीद दिलबहादुर रम्तेलको स्मृतिमा वाइसिएल तनहुँले भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका दश पालिका र आयोजक सहित ११ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा चार नगरपालिका, छ गाउँपालिका र आयोजकको एक सहित ११ टिमले सहभागिता जनाएको वाइसिएल तनहुँका अध्यक्ष केहरसिं आलेले जानकारी दिए।
फागुन २१ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
नेकपा (माओवादी) केन्द्रले विसं २०५२ साल फागुन १४ गते दिलबहादुर रम्तेलको हत्या भएको दिन र झापा विद्रोह फागुन २१ गतेलाई स्मरण गर्दै फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।