Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना स्याङ्गदीका सुजन चेपाङ, देशभित्रै अनागरिक हुनुपर्दाको पीडा : रोजगारका सबै ढोका बन्द !

इच्छाकामना स्याङ्गदीका सुजन चेपाङ, देशभित्रै अनागरिक हुनुपर्दाको पीडा : रोजगारका सबै ढोका बन्द !

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७९
इच्छाकामना स्याङ्गदीका सुजन चेपाङ, देशभित्रै अनागरिक हुनुपर्दाको पीडा : रोजगारका सबै ढोका बन्द !
images

स्याङ्गदी ।  इच्छाकामना गाउँपालिका वडा नं–७, स्याङ्दीका सुजन चेपाङ २२ वर्षका भए । उनको श्रीमती र छोरी छन् । उनी घरका जेठो सन्तान भएकोले सबै जिम्मेवारी बोकेर बस्न बाध्य छन् । परिवार पाल्न गाउँघरमै सवारीसाधन चलाउँछन् । उमेर सानै भए पनि उनले गाडी चलाउन जानेको थुप्रै वर्ष भयो । केही वर्षपहिलेसम्म उनले तनहुँको आँबुखैरेनीमा पनि ट्रयाक्टर चलाए ।

तर बिडम्बना १ उनको हातमा नागरिकता छैन । नागरिकता नहुँदा अहिले पनि चालक अनुमतिपत्रबिना नै सवारीसाधन चलाइरहेका छन् । कानुनले चालक अनुमतिपत्र नलिएसम्म इन्धनबाट चल्ने कुनै पनि सवारीसाधन चलाउन रोक लगाएको छ । तर, उनलाई बाध्यता छ । परिवारको भोको पेटसँग जोडिएको सवाल छ । त्यसैले, उनी अहिले गाउँमै बसेर नजिकका लागि ढुवानीका सवारीसाधन चलाउँछन् ।

नागरिकता लिन उनले धेरैपटक प्रयास गरे । तर, नागरिकता पाउन सकेनन् । जे गरे पनि नागरिकता नै बाधक बनिदिँदा आफूले जानेको सीप पनि खुलेर प्रदर्शन गर्न पाएका छैनन् । ‘जता गए पनि नागरिकताबिना केही काम हुँदैन । आफूले नागरिकता पाइया छैन’, उनी भन्छन्, ‘त्यही भएर अहिले गाउँमै सवारी चलाउँछु । कहिले ट्रयाक्टर, कहिले बोलेरो । टाढा जान समस्या छ ।’
सुजनको मात्रै होइन, उनीभन्दा तल एक भाइ र एक बहिनी छन् । उनीहरुको पनि समस्या उस्तै छ । बुबाआमा दुवैको नागरिकता भएर पनि सन्तानले नागरिकता नपाउँदा आफू यो देशको पनि होइन कि भन्ने लागेको सुजनले सुनाए ।

‘आँबुखैरेनीमा काम गर्दा पनि मलाई साहूले दुईपटक खर्च दिएर पठाए । जिल्ला प्रशासन धाएँ । नागरिकता दिनै मिल्दैन भनेर फर्काइदियो’, उनले भने, ‘बुबाको नागरिकता जन्मको आधारमा लिएको भन्दै त्यस्ता व्यक्तिबाट जन्मिएका सन्तानले नागरिकता नपाउने रहेछ ।’

प्रशासनले बुबाको मृत्युदर्ता लिएर आए सोही नागरिकताको आधारमा दिन मिल्ने बताएपछि आफूले नागरिकता नै नलिएको सुजनले सुनाए । ‘जिउँदै भएको बालाई मृत्यु भएको दर्ता बनाउनुभन्दा मलाई नागरिकतै चाहिएन भनेर फर्किएँ’, भारी मन बनाउँदै उनले भने, ‘मैले नागरिकता लिन बाको मृत्यु दर्ता चाहिने भएपछि जीवित बालाई मार्न सकिनँ ।’ अहिले उनी थाकेर बसेका छन् ।

बुबा दयाबहादुर चेपाङले २०६३ साल फागुन ८ गते जिल्ला प्रशासन कार्यालय चितवनको दाहाखानी गाविस वडा नं–३ बाट नागरिकता पाए । नागरिकतामा बुबा सन्तबहादुर चेपाङ भनेर उल्लेख छ । तर, २०३७ भदौ १ गते जन्मिएको आधारमा नागरिकता पाए पनि नागरिकताको किसिममा ‘जन्म’ उल्लेख गरिदिएपछि उनका सन्तान नागरिकता पाउनबाट वञ्चित भए ।
शिक्षाको ज्योति नपुगेको ठाउँमा दयाबहादुरलाई नागरिकता पाउनु र नपाउनुले अहिलेसम्म अर्थ दिएको छैन । तर, सन्तानका लागि नागरिकता आवश्यक परेपछि जिल्ला प्रशासन पुग्दा उनले बल्ल थाहा पाए, जन्मको आधारमा नागरिकता पाएको कुरा ।

यही कारण अहिले आफ्नै नागरिकता सन्तानका लागि काम नलाग्ने भएपछि दयाबहादुरको परिवार चिन्तित छन् । सुजनका मामाहरु विदेश छन् । भान्जाभान्जीको नागरिकता बनाइदिन पाए वैदेशिक रोजगारमा पहल गर्ने योजना छ । तर, नागरिकता नभएकै कारण कहीँकतै बाटो नभएकोले अन्योलमा परेको सुजनकी आमा सन्तमाया बताउँछिन् । ‘मामाहरुले विदेश ल्याउन पाए हुन्थ्यो भनिरहेका छन् । तर, नागरिकता नहुँदा कुनै पनि काम गर्न पाएको छैन’, उनी भन्छिन् ।

सुजन भने नागरिकता पाए आफूले जानेको सीपलाई देशभित्रै सदुपयोग गरेर आयआर्जन गर्न सकिने बताउँछन् । ‘नागरिकतामात्रै निकाल्न पाएको भए सवारी चालक अनुमतिपत्र निकाल्थेँ । र, नेपालमै गाडी चलाएर खान सकिन्थ्यो’, उनले भने । यतिखेर दयाबहादुर ज्याला मजदुरीका लागि घरबाहिर छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले भने तत्काल यो समस्या समाधान हुन नसक्ने बताएको छ । नागरिकता ऐन संशोधन नभएसम्म जन्मका आधारमा नागरिकता पाएकाहरुबाट जन्मिएका सन्तानलाई नागरिकता दिने प्रावधान नै नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

‘पहिलो कुरा त अहिले जन्मको आधारमा नागरिकता पाउने प्रावधान नै छैन’, उनले भने, ‘हिजो कुनै समय पाइसकेकाहरुबाट जन्मिएका सन्तानको हकमा पनि नागरिकता ऐन संशोधन नभएसम्म सम्भावना छैन ।’ 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - १९:११:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology