भालुमारा । ५० वर्षीय निर्मल दमाईको खास बसोबास कविलास कमलपुर हो । उक्त स्थान हाल भरतपुर महानगरपालिकाको वडा नं-२९ मा पर्छ । बाउबाजेकै पालादेखि सुकुमबासी भएर बसेका दमाईको परिवार त्यो अवस्थाबाट माथि उठ्न सकेन । पाँच दाजुभाइमध्ये एक भाइ पुरानै ठाउँ कुरेर बसेका छन् भने तीन भाइ ससुराल गएर बसेका छन् ।
खोरिया फाँडेर दुई दाना अन्न फलाएर त्यसैले गुजारा चलाउँदै आएका निर्मल भने सुरक्षित बसोवासको खोजीमा भौँतारिँदै इच्छाकामना गाउँपालिका वडा नं-७ मा पर्ने भालुमारा संगमटोलमा आइपुगे । गास र बासको ठेगान नभएका उनी परिवारसहित कसैको बारीको छेउमा स्याउलाले बारेर बस्न थाले । बिजोग तरिकाले बसेको देखेपछि कसैले त्रिपाल ल्याइदिए । त्यसैको भरमा बसे । त्यसको केही वर्षपछि कुनै एउटा संस्थाले जस्ता ल्याइदिएपछि भने निर्मलको परिवार अलि ढुक्क भएर बस्न सक्यो ।
धादिङको ताल्तीबाट चितवन झरेकी ५५ वर्षीया सञ्चमाया तामाङको पनि व्यथा उस्तै छ । पदमपुरको बाईस बिघामा स्याउलाले बारेर दिन घचेटिरहेकी उनी केही वर्षअघि त्यहाँबाट लखेटिइन् । उनी पनि अहिले संगमटोलकै सुकुमबासी बस्तीमा बस्छिन् । बूढाबूढी घरमा बस्छन्, छोराबुहारी भरतपुरमा कुखुरा फार्ममा काम गर्छन् । तिनै छोराबुहारीले पठाउने दुई पैसाले मानो मुठी किन्छन् । अहिले घरमा अधिँया बाख्रो पालेर नुन तेलको जोहो गरिरहेका छन् ।
मकवानपुरको मनहरीमा जन्मे हुर्केकी अञ्जुमाया चेपाङ पनि यही बस्तीमा बस्छिन् । मनहरीको पहिरोले छाप्रो बगाएपछि गासबासको ठेगानबिना भौँतारिरहेकी अञ्जु अहिले ढुक्क भएर बसेकी छन् । करिब पाँच वर्षदेखि भालुमारामा बस्दै आएकी उनी चार वर्षसम्म खरको छानोमा बसिन् । अहिले जस्ताको छानोसहित नयाँ घर पाउने भएपछि थप खुसी छिन् । ‘खान नपाए पनि घर छ भन्ने बाटो बनेको छ,’ उनी भन्छिन्, ‘हाम्रो नाममा जग्गाको पुर्जा नभए पनि बासको व्यवस्था गरिदिएकोले सरकार छ भन्ने महसुस भएको छ ।’
निर्मल, सञ्चमाया र अञ्जुमाया जस्तै यहाँ ६२ परिवार एकै ठाउँमा एउटै समाज भएर बसेका छन् । इच्छाकामना गाउँपालिकाको वडा नं.७ का अध्यक्ष बमबहादुर थापामगरले आफूले भोगचलन गर्दै आएको जग्गामा सुकुमबासी बस्ती बसालेपछि कुनै दिन धान फल्ने बारीमा सुकुमबासी बस्ती बनेको हो । अहिले यहाँ धमाधम नमुना बस्ती निर्माण हुँदैछ ।
१६ वटा घर यसअघि नै बनिसकेको यो बस्तीमा यसपटक १९ वटा घर निर्माण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार यसपटक संघीय सरकारको ७० लाख र प्रदेश सरकारको ५० लाख गरी एक करोड २० लाख रुपैयाँको लागतमा सुकुमबासीको घर निर्माण गर्न लागेको हो । गाउँपालिकाले एक घर निर्माण गर्न करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।
‘विजय हजुरबा’को योगदान
इच्छाकामना–७ का वडाअध्यक्ष बमबहादुर थापामगर दोस्रो कार्यकालको लागि वडाअध्यक्षमा चुनिएका हुन् । पहिलोपटक २०७४ सालमा अध्यक्ष चुनिएका मगरले आफू निर्वाचित भएपछि पुर्खादेखि आफैँले भोगचलन गर्दै आएको जग्गामा अहिले सुकुमबासी नमुना बस्ती बसालेका हुन् । खगेरी बगरमा छाप्रो हालेर बसेको बूढाबूढीलाई ल्याएर आफ्नै जग्गामा राख्दा अहिले ६२ परिवार सोही जग्गामा आएर बसेको उनले बताए ।
वडाअध्यक्ष मगरले बर्खाको समयमा पदमपुरतिर डेरा खोजेर बस्ने र हिउँद लागेपछि खगेरी बगरमा बालुवा चालेर त्यही बसेको खबर पाएपछि स्थायीरुपमै बसोवास गर्ने वातावरण मिलाउने प्रयास गरे । ‘उनीहरुको वास्तविकता खोतल्दै जाँदा वास्तविक सुकुमबासी भएको पत्ता लागेपछि मैले मेरै बारीको एउटा छेउमा बस्न दिएँ,’ उनी भन्छन्, ‘पाँच वर्षमा अहिले थपिँदै जाँदा ६२ घर पुग्यो ।’
आफूले घर नभएकालाई आश्रय दिएको थाहा पाएपछि वडामा धाउनेको लर्को लागेको उनले बताए । ‘अझै पनि आवास चाहियो भन्न आउँछन्,’ उनी भन्छन्, ‘अहिलेसम्म त आफूसँग जमिन थियो र पो दिइयो । अब आफूसँग भएको जग्गा नै सकिएपछि अन्त व्यवस्थापन गर्न गाह्रो छ ।’
त्यसपछि मगरले खेतीपाती गर्दै आएको करिब दुई बिघा जमिन नै नमुना बस्तीको लागि छाडिदिए । अहिले यो बस्तीका सबैले आफूहरुलाई बस्न दिएको भन्दै वडा अध्यक्ष मगरलाई भगवान मान्न थालेका छन् । वडा अध्यक्ष मगरलाई यहाँका बालकदेखि वृद्धसम्म सबैले ‘विजय हजुरबा’ भनेर सम्बोधन गर्छन् । अहिले शौचालय र भान्छा कोठासहित दुई कोठे घर निर्माण भइरहेको छ ।

यसपटक निर्माण हुन नसकेका बाँकी घर पनि अर्को आर्थिक वर्षमा निर्माण गरिने वडा अध्यक्ष मगरले जानकारी दिए । यहाँ दुई घर तामाङ, एक घर गुरूङ, एक घर मगर र बाँकी सबै चेपाङ र दमाई (परियार) समुदायको बसोवास छ । व्यक्तिले चर्चिंदै आएको जमिन भए पनि सरकारी जग्गा भएकोले सरकारी प्रक्रियाअनुसार पुर्जा वितरणको लागि समेत पहल गरिने इच्छाकामना गाउँपालिकाले जनाएको छ ।
चितवनपोष्टबाट