गण्डकी । गोरखाको गण्डकी गाउँपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। गण्डकी गाउँपालिकाको आयोजना तथा रत्नेश्वर माध्यमिक विद्यालय गण्डकी–५, दर्बुङ्गटारको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।
माघ १४ गतेदेखि १७ गते सम्म चलेको प्रतियोगितामा गाउँपालिकाको ८ वटा वडाका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितमा ६ स्वर्ण, ६ रजत र ४ कास्य सहित सुर्योदय मा.वि, गण्डकी–८, बेनीगाउँ प्रथम भएका छन् । यसैबिच ६ स्वर्ण, २ रजत र ४ कास्य सहित ज्ञानमार्ग मा.वि, गण्डकी–७ घ्याल्चोक दोस्रो , ५ स्वर्ण, ७ रजत र २ कास्य सहित दिर्घेश्वर मा.वि, गण्डकी–४ फुजेल तेश्रो, र ४ स्वर्ण, ५ रजत र ४ कास्य सहित रत्नेश्वर मा.वि,गण्डकी–५ दर्बुङ्गले चौथो स्थान हासिल गरेको आयोजकले जनाएको छ ।
साथै ४ वटा स्वर्ण विजेता ज्ञानमार्ग माविका अनिस रेग्मी पुरुष तर्फ सर्बोत्कृष्ट खेलाडी बन्नुभयो । महिला तर्फ २ स्वर्ण १ रजत सहित सुर्योदय माविकी सानिया थापा मगर प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी बन्नुभयो ।
यसैबिच भैरवाश्रम माविसन्दिप बराम फेयर प्ले पुरुष खेलाडी र रत्नेश्वर माविकी मञ्जु दवाडी फेयर प्ले महिला खेलाडी र भगवती माविका प्रतिक रेग्मी अनुशासित खेल शिक्षक घोषित हुनुभएको गाउँपालिका रोजगार सहायक हाल शिक्षा,युवा तथा खेलकुद शाखामा कार्यरत सन्तोष विश्वकर्माले जानकारी दिनुभयो ।
पुरस्कृत विद्यालयहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दीपक तिमल्सिना साकारले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितमा विभिन्न ३० खेल समावेश गरेका थिए ।