Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

निर्माणाधिन इच्छाकामना माईको मन्दिरको शिरमा गजुर राखियो

निर्माणाधिन इच्छाकामना माईको मन्दिरको शिरमा गजुर राखियो

images

इच्छाकामना न्युज

१७, माघ २०७९
निर्माणाधिन इच्छाकामना माईको मन्दिरको शिरमा गजुर राखियो
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको निर्माणाधिन इच्छाकामना माईको मन्दिरको शिरमा गजुर राखिएको छ । सोमबार निर्माणाधिन मन्दिरको शिरमा गजुर राखिएको हो । 

निर्माणाधिन मन्दिरमा भक्तपुरका स्थानीय नेवार समुदायको आर्थिक सहयोगमा गजुर राखिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनका अनुसार यतिबेला मन्दिर पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको थियो ।

विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरमा अब रङरोगन, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने काम बाँकी छ । यसका लागि पनि बजेट व्यवस्थापनको काम भैरहेको उनले बताए ।

2.jpg

यस्तै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने बताए । उनले मन्दिर नजिकै पाहुना घरसमेत निर्माण भइरहेको जानकारी दिए । “मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको छ । जमिन संरक्षण र प्रवेशद्वार निर्माणलाई पनि गाँउपालिकाले प्राथमिकतामा राखेको छ”, उनले भने ।

इच्छाकामना गाँउपालिका पर्यटकिय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले यस वर्षदेखि प्रचारप्रसारलाई बढाइने बताउनुभयो । शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहजरुपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।

पृथ्वी राजमार्ग अन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामनामा मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे मनले इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए ।

उनका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि उनका पुर्खाले गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न सुरु गरेका थिए । “मन्दिरमा पूजा गर्न थालेपछि गाईबाख्रा हराउन छाड्यो । अन्य गाउँलेले पनि पूजाआजाको सुरुआत गरे । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि स्थापना गरियो”, उनले भने ।

प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घण्ट र त्रिशूल पनि चढाउने गरिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गर्ने प्रचलन रहेको छ ।

इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे«सम्म देख्न सकिन्छ ।

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी गुरुङले बताए । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएपछि इच्छाकामनामा होटलसमेत खोल्ने तयारी गरिएको छ ।

 

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - ०९:५९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology