आँबुखैरेनी । मिलनचोक जरेबर खानेपानी तथा सरसफाई उपभोक्ता समिती आँबुखैरेनी–२ र ३ तनहुँको १४ औं भेला तथा साधारण सभा एवं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । समितीका अध्यक्ष बुद्धि बहादुर पाण्डेको सभापतित्व तथा गण्डकी प्रदेश सरकारका भौतिक, शहरी विकास तथा यातयात मन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा सो खानेपानीको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभा समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका भौतिक, शहरी विकास तथा यातयात मन्त्री चुमानले जिल्लाको उच्च शिखर छिम्केश्वरीबाट बगेको शुद्ध पिउनेपानी पिउन पाउनु यहाँका स्थानीयको लागि भाग्य र गर्वको कुरा भएको बताउनुभएको छ । मन्त्री चुमानले पानी जिवन भएकोले पिउनेपानी खेर नफाली सही सदुपयोग गर्न सम्पूर्ण उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।
साधारण सभामा समितीका अध्यक्ष बुद्धि बहादुर पाण्डेले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा २०५६ साल देखि यस खानेपानीको संरक्षण, सम्र्वद्धन र विकास लागि विशेष योगदान पु¥याएको भन्दै समितीका निवर्तमान अध्यक्ष केशर बहादुर केसीलाई सम्मान गरिएको छ ।

समितीका उपाध्यक्ष अमर थापा मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री हरि बहादुर चुमान, समितीका अध्यक्ष बुद्धि बहादुर पाण्डे, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, खानेपानी समितीका निवर्तमान अध्यक्ष केशर बहादुर के।सी, कांग्रेस गाउँ कमिटीका सभापति बिष्णु बहादुर पन्त, एमाले गाउँ कमिटीका अध्यक्ष कपिल खनाल, वडा नं. ३ का निवर्तमान वडाअध्यक्ष पूर्ण बहादुर थापा, ढावटार टोल सुधार समितीका अध्यक्ष लक्ष्मण थापा लगाएतकाले मन्तव्य राख्नुभएको थियो ।

आयोजनाबाट हाल आँबुखैरेनी गाउँपालिकाको वडा नं. २ र ३ मा गरी १०४० घरधुरिका जनताहरुले खानेपानीको सेवा लिदै आएको कार्यालयका सचिव अनिल अधिकारीले जानकारी दिनुभयो ।