चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौली (गौचरन)मा बिहीबारदेखि ‘आठौं खिचरा महोत्सव–२०७९’ सुरू भएको छ। महोत्सवको उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरेका हुन्। मन्त्रालय सम्हालेपछि पहिलोपटक चितवन आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका नेता लामिछानेले थारू समुदायको कला तथा संस्कृति सरंक्षरणका लागि सरकार प्रतिवद्ध रहेको बताए।
उनले थारू समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्याउनेसमेत बताए। कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्व सबै समुदायको साझा पर्व बन्न सफल भएको बताए। थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघ १ गते खिचरा पर्वको अवसरमा यो महोत्सव आयोजना गर्दै आएको छ।
महोत्सवमा देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकताका साथ प्रदर्शन गरिएको छ। मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको छ। महोत्सवमा ३० वटा होटलसहित १५० वटा व्यावसायिक स्टल छन्। महोत्सवमा कृषि प्रवद्र्धन परिसरसमेत राखिएको छ। महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछन्।
खिचरा महोत्सवमा शुक्रबार कराँते प्रतियोगिता
खिचरा महोत्सवमा शुक्रबार र शनिबार जिल्ला स्तरीय सितोरियो कराँते प्र्रतियोगिता हुने भएको छ। नेपाल सितोरियो कराँते डो संघ चितवन तथा उपशाखा डोजो पर्सा खैरहनी एवं आठौं खिचरा महोत्सवको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा २२ वटा डोजोका २६० खेलाडीहरुको सहभागीता रहनेछ। शुक्रबार बिहान ९ बजेदेखि शुरु हुने सितोरियो कराँते टुर्नामेन्टका संयोजक जीवन महतोले जानकारी दिए।
आजदेखि शुरु भएको भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ। ती दुई खेलमा सेभेन ग्रुप चितवनलाई सेन्ट्रल कलेज भरतपुरले र एनवाईसी हर्नरीलाई रुपीटार नेपाल रसौलीले जितेको छ। भोली ५ खेल हुने शिक्षा तथा खेलकुद समिति संयोजक धनवीर चौधरीले जानकारी दिए। यस्तै शुक्रबार विशेषज्ञ चिकित्सकहरुको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। डा. गौरीराम महतोलगायत चिकित्सकले चेकजाँच गर्नेछ।