काठमाण्डौ । हिउँदे वर्षा नहुँदा नेपालका विभिन्न ठाउँमा प्रदूषणको मात्रा स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । विशेषगरि औद्योगिक क्षेत्र आसपास यस्तो प्रदूषण अझ उच्च दरमा बढिरहेको हो ।
वातावरण विभागका अनुसार गएको २४ घण्टामा काठमाडौँंको रत्नपार्क, शङ्खपार्क, ललितपुरको खुमलटार र महेन्द्रनगरको भिमदत्तमा प्रदूषणको मात्रा स्वास्थ्यको हिसाबले हानिकारक अवस्थामा पुगेको छ ।
विशेषगरि हिउँदे वर्षा नहुँदा प्रदूषण बढेको विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी बिहान र बेलुकाको समयमा प्रदूषणको मात्रा उच्च विन्दुमा पुग्ने गरेको छ ।
दिउँसो हावा चल्दा धुँवा धुलोका कणहरू केही पर उड्ने भएपनि बिहान बेलुकी हुस्सु, कुहिरोका कारण एक ठाउँमै थिग्रिएर बस्दा प्रदूषण बढ्ने उहाँको भनाइ छ । सामान्यतया अङ्ग्रेजी महिनाको डिसेम्बरदेखि फेब्रुअरीसम्ममा हुने वर्षालाई हिउँदे वर्षा भनिन्छ । यसपाली हिउँदे वर्षा कम हुने यसअघि नै पूर्वानुमान गरिएको छ ।
अहिले तत्काल पानी पर्ने अवस्था नदेखिएकाले प्रदुषण घट्ने सम्भावना पनि नरहेको मौसमविद् समिर श्रेष्ठले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । तर पनि पानी पार्ने प्रणाली सक्रिय नभएकाले तत्काल तुँवालो हट्ने सम्भावना छैन ।
प्रदुषण बढ्दै जाँदा स्वास्थ्यसँग सम्बन्धित समस्याहरु बढ्दै जाने भएकाले सकेसम्म घरबाहिर ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन डाक्टरले सुझाव दिएका छन् । मर्मत नगरिएका सवारीसाधन, फोहोर बाल्दा निस्कने धुँवा लगायतका कारण प्रदूषण बढेको वातावरण विज्ञले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको छ ।