आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्वास्थ्य र शिक्षा आँबुखैरेनी गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले शनिबार आँबुखैरेनीको पहिलो र एकमात्र क्याम्पस आँबुखैरेनी क्याम्पसको १५ औं वार्षिकोत्सव कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।
सम्बोधनकै क्रममा उनले आँबुखैरेनी गाउँपालिकाले जनताको आधारभुत आवश्यकता स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै यस क्षेत्रको परिवर्तनका लागि जोड दिइएको बताए । ‘अब हामी आँबुखैरेनीको स्वास्थ्य र शिक्षा क्षेत्रमा तरंग ल्याउनेछौं, यसका लागि तपाई हामी सबै एक भएर अगाडी बढ्नुपर्छ’ –उनले भने ।
यस्तै कार्यक्रममा अध्यक्ष चुमानले आँबुखैरेनी क्याम्पसलाई अब त्रिभुवन विश्वविधालयको आंगिक क्याम्पस बनाउनु पर्नेमा जोड दिए । सकेसम्म टियुको नभए अन्य विश्वविद्यालयको भएपनि आंगिक क्याम्पस बनाउनुपर्ने बताएका थिए । साथै उनले अब आँबुखैरेनी क्याम्पसमा दिवा समयमा प्राविधिक धारका कक्षा संचालन गर्नुपर्ने पनि बताए।