आँबुखैरेनी । आँबुखैरेनी अस्पतालमा अब दाँत सम्बन्धी उपचार निःशुल्क रुपमा हुने भएको छ । बिहिबार आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकावासी नागरिकको लागी निःशुल्क दन्त उपचार गर्नको लागि एक संस्थासँग सहकार्य गर्ने सम्झौता गरेसँगै अस्पतालले दाँत सम्बन्धि उपचार निःशुल्क गर्ने भएको हो।
गाउँपालिकाले मुख सम्बन्धि स्वास्थ्यमा काम गर्दे आएको पोखराको नेलम्वो नेपालसँग निःशुल्क दन्त उपचार सम्बन्धि सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र नेलम्वोका कार्यक्रम संयोजक भिम प्रसाद भण्डारी बिच सहमति भएको हो ।
आगामी पुष १० गते देखि १४ गते सम्म पहिलो चरणको उपचार सुरु गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनका अनुसार पालिकाले आफ्नै अस्पताल सुरु गरेर ग्रामिण भेगमा रहेका पालिका बासीलाई स्वास्थ्यका आधारभुत सुबिधा प्रदान गर्ने प्रयासको थालनी भैसकेको छ । युवासँग आवेग मात्र नभई योजना पनि हुन्छ भन्ने उदाहरण आबुखैरेनीले दिने कुरामा निरन्तर आफु लागिरहेको उनले स्पष्ट बताए।
गाउँपालिकामा मुख स्वास्थ्यको कार्यमा पालिकालाई नेलम्वो नेपालले सहयोग गर्ने नेलम्वो नेपालका कार्यक्रम संयोजक भिम प्रसाद भण्डारीले जानकारी दिए। नेलम्वोले गाऊपालिकाको अनुरोधको आधारमा निःशुल्क सेवा दिने र दाँत तथा मुख स्वास्थ्यका सबै उपचारमा नागरीकलाई कुनै शुल्क नलाग्ने भण्डारीले बताए।