मुग्लिन । चुनावी अभियानको क्रममा गठबन्धनका कार्यकर्ताले तोडफोड गरेको सवारी साधन मर्मत गर्ने सहमती भएको छ । आइतबार चितवन क्षेत्र नम्बर २ अन्तरगत इच्छाकामना ४ लेवाटारमा घरदैलो हुदैँ गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गर्दै आएको बा १४ च ७६८४ नम्बरको सवारी गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका थिए ।
चुनावी अभियानको क्रममा दुई पार्टीको घरदैलो तथा र्यालीबिच भेट हुदाँ कार्यकर्ताहरुबिच भनाभन भएपछि गठबन्धनका कार्यकर्ताहरुले गाडी तोडफोड गरेका थिए । उक्त झडपमा २ जना सामान्य घाइते समेत भएका थिए । आज सवारी धनी र गठबन्धनका नेताहरुबिच गाडी मर्मत गर्ने सहमती भएको नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य प्रताप गुरुङले बताए ।
गठबन्धका नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृति कुमार श्रेष्ठ, माअोवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य प्रताप गुरुङ, तरुण दलका अध्यक्ष होमप्रसाद सिलवाल जीवन, वाइसियल अध्यक्ष झलक गुरुङ र सवारीधनी मन बहादुर मगरबिच आज सहमती भएको हो ।
यसैबिच सवारी तोडफोडमा संलग्न कार्यकर्ताहरु विरुद्ध सवारी धनीले जाहेरी नदीने सहमति भएको छ । यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीले तोडफोडमा संलग्न कार्यकर्ता विरुद्ध जाहेरी दिने भनिए पनि हालसम्म जाहेरी परेको छैन ।