मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित काटिश्वरा गाउँमा निर्माण हुन लागिरहेको खानेपानी आयोजनामा विदेशी स्वंयम्सेवकहरुले श्रमदान गर्ने भएको छ । खानेपानी आयोजना निर्माणका लागि स्थानीयसँग सहकार्य गर्न वाइन टु वाटर संस्थाको संयोजनमा अमेरिकाबाट स्वंयम्सेवकको टोली यहाँ आएका हुन्।
अमेरिकाबाट आएको स्वंयम्सेवकमा १ जना भिडियोग्राफर र ११ जना महिला स्वंयसेवकहरु रहेको वाइन टु वाटर संस्थाका वास को अर्डिनेटर यज्ञराज जोशीले जानकारी दिए। उनले दिएको जानकारी अनुसार स्वंयसेवकहरुले अबको एक हप्ता स्थानीय समुदायहरुसँग सहकार्य गरि निःशुल्क श्रमदान गर्नेछ।
अमेरिकाबाट आएका स्वंयसेवकको टोलीलाई इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहाुदर गुरुङले आज काटिश्वरा गाउँमा स्वागत गरेका थिए। अध्यक्ष गुरुङले स्वंयम्सेवक टोलीहरुलाई गैंटी सावेल लगायतका निर्माण सामाग्री दिएर स्वागत गरेका थिए।
इच्छाकामना गाउँपालिका र वाइन टु वाटर संस्थाको साझेदारीमा काटिश्वरा गाउँमा खानेपानी आयोजना निर्माण हुन लागेको हो।
करिब १४ लाख रुपैयाँ लागत रहेको आयोजनामा गाउँपालिकाले २५ प्रतिशत, वाइन टु वाटर संस्थाले ६५ प्रतिशत र स्थानीयले १० प्रतिशत लागत व्यहोर्ने छ।
आयोजना अन्तर्गत ५÷५ घनमिटरको २ वटा खानेपानी ट्याङकी र १७ वटा धारा निर्माण गरिनुका साथै ट्याङ्कीमा पानी शुद्धिकरणका लागि क्लोरिन डोजिन सिस्टम जडान गरिने वाइन टु वाटर संस्थाका वास फेसिलेटर बिरु गुरुङले जानकारी दिए।