काठमाण्डौं, १८ पौष ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन हिजो संसारभरि तीन लाख ७१ हजार भन्दा धेरै शिशु जन्म भएको छ।
यूनिसेफको अनुसार विश्वभर तीन लाख ७१ हजार पाँच सय चार जना शिशु जन्मिएको हो।
ठूलो संख्यामा जन्मिएका नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएकोमा रोमाञ्चित बनाएको यूनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०२० सबैका लागि चुनौतिपूर्ण वर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो ।
नयाँ वर्षमा समस्याहरु व्यवस्थापन हुँदै अवस्था सहजतातर्फ जाने यूनिसेफले विश्वास लिएको छ । विश्वभर दुर शिक्षा, विद्यालय सञ्चालन, सफा खानेपानी, पोसिलो खाद्य पदार्थ लगायतका बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको यूनिसेफले सन् २०२० मा कोरोनाविरुद्ध लड्नका लागि पनि आवश्यक सहयोगमा जोड दिएको थियो ।
यूनिसेफले सन् २०२१ मा संसारभरि अनुमानित १४ करोड शिशु जन्मने आँकलन गरेको छ । यूनिसेफको प्रतिवेदनअनुसार जनवरी १ मा सबैभन्दा धेरै भारतमा करिब ६० हजार, चीनमा ३५ हजार ६१५ र नाइजेरियामा २१ हजार ४३९ शिशुको जन्म भएको छ ।
भारत, चीन, नाइजेरिया, पाकिस्तान, इन्डोनेसिया, इथियोपिया, अमेरिकालगायतका १० देश धेरै शिशु जन्माउने देशको सूचीमा परेका छन् । सन् २०२० को जनवरी १ मा भने संसारभरि तीन लाख ८६ हजार शिशुको जन्म भएको थियो ।