Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

लघु उद्यम

आँबुखैरेनीका रामलाल विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन

आँबुखैरेनीका रामलाल विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन

images

रासस

१३, कार्तिक २०७९
आँबुखैरेनीका रामलाल विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन
images

पूर्ण विके, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन् । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ ।

फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उनहाँले बताए। “फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो”, आरानमा घरेलु औजार बनाउँदै गरेका रामलालले भने, “दिन रात उपाय खोजें र यो मेसिन बनाएँ ।”

मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन् । मेसिन बनाउन करिब ३० हजार रुपैयाँका सामान खरिद गरेको उनले बताए। युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उनले जानकारी दिए। फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आएका छन्। करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उनले बताए।

कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको उनको भनाइ छ ।

करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गर्छन्। नयाँ घरेलु हतियारको प्रकारअनुसार चार सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताए।

आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उनले जानकारी दिए। ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उनको भनाइ छ । “ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिन ।” सामान्य लेखपढ गरेका विश्वकर्मा राज्यले केही सहयोग गरेमा आफूले व्यवसायलाई थप विस्तार गर्नसक्ने बताउँछन्। उनी आरनको कमाइबाट घरको दैनिक जर्गो टार्दै आएका छन् ।

विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरुले घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ । आफूहरुले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताइन्। घुमाउने, साराङघाट, मास्दीघाटलगायतका छ÷सात वटा गाउँका बासिन्दाले उनको आरनबाट सेवा लिँदै आएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - १५:१७:२७ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology