ममता भट्ट, डडेलधुरा । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा चुनावी सरगर्मी बढेको छ । माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिनु भएका देउवाका मुख्य प्रतिस्पर्धि नेपाली काँग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई मानिएको छ ।
यद्यपी स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकाहरूको पनि चर्चा उत्तिकै छ । २०४८ यताका सबै निर्वाचनमा विजयी हुनुभएका प्रधानमन्त्री देउवा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा पनि आफ्नो इतिहास कायम राख्दै आफू र आफु नेतृत्वको गठबन्धनलाई जिताएर देउवा आगामी निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । तर जिल्लाका मतदाताहरूको विचार भने बाँडिएको छ । प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सात वटा स्थानीय तह छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ५२ वटै वडाहरूमा अध्यक्षका उम्मेदवारहरूले पाएको एकीकृत मतमा नेपाली काँग्रेस अगाडि छ । काँग्रेसले २१ हजार सात सय ३५, नेपाली काँग्रेस (विपी) र नेकपा (एमाले) को गठबन्धनले १४ हजार ५१, माओवादी केन्द्रले १२ हजार आठ सय र एकीकृत समाजवादीले पाँच हजार ४१ मत पाएका छन् ।
त्यस्तै, अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुले दुई हजार पाँच सय ४८ मत पाएका छन् । यसपटकको निर्वाचन स्वतन्त्र बाट युवा उम्मेद्वार सागर ढकाल लगायत मैदानमा रहेका छन् । नागरिकहरू सोच विचार गरि मत हाल्ने तयारी रहेको बताउँछन् । एमालेले काँग्रेस विपीका मल्ललाई सघाउँदै उम्मेदवारी फिर्ता लिएको थियो भने प्रदेशमा आफ्नो उम्मेदवारलाई सघाउनुपर्ने सर्त विपी काँग्रेससँग राखेको थियो । तर दुइ पक्षबीचको सहकार्य त्यति विश्वासिलो देखिएको छैन ।
यस्तो अवस्थामा डडेलधुरामा सङ्घमा मल्ल र देउवा तथा प्रदेशमा सत्ता गठबन्धन र एमाले तथा काँग्रेस विपिका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।