आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाज आँबुखैरेनीले विभिन्न क्षेत्रका ५ जनालाई सम्मानित गरेको छ। समाजले शुक्रबार आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका ५ जना व्यक्तित्वहरुलाई सम्मानित गरेको हो।
समाजले हरेक वर्ष वितरण गर्नेृ ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’बाट साहित्यकार एवं भुगर्भविद् प्रा.डा. खुमनारायण पौडेललाई सम्मानित गरेको छ। सम्मानित व्यक्तित्व पौडललाई खादा, सम्मानपत्र, मायाको चिनो र नगद राशीले सम्मान गरेको हो। यो पुरस्कारको राशी नगद १० हजार रहेको छ।

यस्तै ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’बाट हास्यकलाकार एवं सिनेकर्मी सुभाष गजुरेललाई सम्मानित गरेको छ। समाजका संरक्षक इन्द्रमान परियारले आफ्नो स्वर्गीय बुवा आमाको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारबाट कलाकार गजुरेललाई खादा, सम्मानपत्र, मायाको चिनो र नगद १० हजार राशीले सम्मान गरेको हो।

त्यसैगरी, भगवानदास मल्ल संरक्षक रहनुभएको कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट खोज पत्रकारिता पुरस्कारबाट हेर्ने कथा टिमका पत्रकार विद्या चापागाई सम्मानित भएका छन् । खोज पत्रकारितामा उत्कृष्ट काम गरेको भन्दै चापागाईलाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी जनही १० हजार रुपैंया प्रदान गरी सम्मान गरिएको हो ।

यस्तै, संगिता श्रेष्ठ संरक्षक रहनुभएको ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ बाट आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुनु भएका व्यवस्थापन संकाय तर्फका मञ्जु थापा र शिक्षाशास्त्र संकाय तर्फका सुलना गुरुङ सम्मानित भएका छन् । थापा र गुरुङ्गलाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी २ हजार ५ सय रुपैंया प्रदान गरी सम्मान गरिएको छ ।

आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालदेखि ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ भने ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ बाट आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने व्यवस्थापन र शिक्षा शास्त्र संकाय तर्फका एक–एक जना गरि २ जना विद्यार्थीलाई सम्मानित गर्ने गरिएको छ। गत वर्षबाट भने भगवानदास मल्ल संरक्षक रहनुभएको कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट सम्मानबाट पनि सम्मानित गर्ने गरिएको हो।

शुक्रबार सम्पन्न कार्यक्रम समाजका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्व तथा वरिष्ठ साहित्यकार काजी रोशनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, दाताहरु र समाजका अध्यक्ष लगायतले सम्मान गरेका थिए।
