आँबुखैरेनी । अवैध लागुऔषध सहित तनहुँ आँबुखैरेनी गाउँपालिकाका ३ जना युवा पक्राउ परेको छ । उनीहरुलाई बुधबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी ४ स्थित बेनिटारमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ जान आउँदै गरेको लु १ ख ८५७१ नं. को बसबाट चेकजाँचको क्रममा शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा तनहुँ आँबुखैरेनी गाउँपालिका १ सत्रसय बस्ने वर्ष २६ को दिपेश श्रेष्ठ, वर्ष ३० को अजय गुरुङ र आँबुखैरेनी २ बस्ने वर्ष २७ को प्रितम थापा रहेका छन्। उनीहरुको साथबाट प्रहरीले डाइजोपाम ६९ एम्पुल, फेनारागन ७० एम्पुल, नुर्फिन ६९ एम्पुल गरि २०८ एम्पुल अवैध लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई हाल जिल्ला अदालत तनहुँबाट १२ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।