चुम्लिङटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ को वडाकार्यालयको सेवा आफ्नै नयाँ भवनबाट सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले वडा कार्यालयको नयाँ भवन उद्घाटन गरेसँगै नयाँ भवनबाट सेवा सुरु भएको हो।
यसअघि इच्छाकामना ३ स्थित फिस्लिङ बजारमा रहेको भाडाको घरबाट अस्थायी रुपमा कार्यालयले सेवा प्रदान गरिरहेकोमा शुक्रबार जन्माअष्टमीको दिन पारी वडा कार्यालय चुम्लिङटार स्थित आफ्नै नवनिर्मित भवनमा सरेर सेवा दिन सुरु गरेको हो।
कार्यालयको भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ रहेका थिए भने कार्यक्रमको अध्यक्षता वडाध्यक्ष नर बहादुर नेपालले गरेका थिए।

कार्यालयको भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकाका सबै वडाकार्यालयहरुको भवन निर्माणको काम धमाधम भैरहेकोले आगामी वर्ष भित्र सबै वडाकार्यालयहरुको सेवा आफ्नै भवनबाट हुने बताए।
यस्तै कार्यालयको नवनिर्मित भवन ७९ लाखमा निर्माण भएको वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपालले जानकारी दिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, निवर्तमान गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, निर्वतमान गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो।