काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी तथा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले बालाजु–ककनी सडक खण्ड आठ वर्षमा पनि नबनाएपछि ठेक्का सम्झौता रद्द हुने भएको छ।
पछिल्लो आदेशसँगै सरकारले गरेको ठेक्का रद्दको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ। सरकारले गएको चैतमा ठेक्का रद्द गर्ने निर्णय गरेपछि शैलुङ कन्स्ट्रक्सन कम्पनीले जिल्ला अदालत ललितपुरमा रिट दर्ता गरेको थियो।
आठ वर्षअघि सन् २०१४ जुनमा शैलुङ र अर्को कम्पनीको जोइन्ट भेन्चरलाई सडक विभागले बालाजु–ककनी सडक खण्ड बनाउन ठेक्का दिएको थियो। दुई वर्षभित्र बनाइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो।
शैलुङले सम्झौताअनुसार बाटो बनाइसक्नुपर्ने अवधिसम्म जम्मा ३९ प्रतिशत काम सकेको थियो। त्यसपछि सातपटकसम्म अवधि बढाइएको थियो। अहिलेसम्म उक्त सडक खण्डको ५८ काम मात्र सकिएको छ।