राप्ती । राप्ती नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई नगरपालिकाले स्वागत गरेको छ । बुधबार नगर प्रमुख शमशेर लामाले भरतपुर महानगरपालिकाबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत लम्साललाई रुद्राक्षको माला लगाएर स्वागत गरेका हुन् ।
नगरपालिकाका कर्मचारीको उपस्थितिमा लम्साललाई स्वागत गर्दै नगर प्रमुख लामाले नगरको प्रशासनमा चुस्त दुरुस्तसँग काम हुने कुरामा विश्वास व्यक्त गरे । विभिन्न पालिकामा रहेर काम गरेको आधारमा पनि राप्तीको समृद्धिको लागि लम्सालको अनुभव उपयोगी हुने लामाले बताए ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत लम्सालले राप्ती कामको लागि नयाँ भएता पनि चितवन र आसपासमा रहेर काम गरेको आधारमा प्रशासनिक हिसाबमा सधैँ समानता हुने बताए ।
लम्साल यसअघि तनहुँको बन्दिपुर गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकामा रहेर काम गरेका हुन् । झन्डै तीन वर्ष राप्तीमा काम गरेका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलको भने बाग्लुङको गल्कोट नगरपालिका सरुवा भएको छ ।