सुसिला श्रेष्ठ, काठमाडौंँ । सरकारी कर्मचारीहरूको आचरण र व्यवहारलाई व्यवस्थित गर्नको लागि भन्दै सरकारले सदाचार संहिता निर्माण गरि लागु गरे पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । निजामति कर्मचारीहरूलाई पदीय जिम्मेवारी प्रति अझ बढी उत्तरदायी एवं संवेदनशील बनाउन आवश्यक रहेको भन्दै ४ वर्ष अघि आचारसंहिता लागू गरिएको थियो ।
निजामति कर्मचारीको लागि सरकारले जारी गरेको सदाचार संहितामा कार्यसम्पादनमा ढिलासुस्ती नगर्ने, सेवाग्राहीलाई अनावश्यक झन्झट नदिइ काम सम्पन्न गरिदिने उल्लेख छ । आचारसंहितामा लेखे अनुसार कर्मचारीको व्यवहार नफेरिएको बाजुराका झुप्रि उखेडाले बताउनुभयो ।
सदाचार संहितामा सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा प्रतिबद्ध भइ सेवा प्रवाहमा तटस्थताको नीति अवलम्बन गर्ने उल्लेख छ । तर सेवाग्राहीले निजामति कर्मचारीले तटस्थ भएर सेवा दिएको अनुभव गरेका छैनन् ।
सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउँदै उपलब्ध साधन, स्रोत र जनशक्तिबाट जनतालाई अधिकतम सेवा प्रवाह गर्न र स्थानीय प्रशासन ऐनको प्रभावकारी कार्यान्वयन गर्न सदाचार संहिता २०७५ लागु गरिएको हो । तर कर्मचारीको व्यवहारलाई लिएर सेवाग्राहीको गुनासो घटेको छैन । आचारसंहिता कार्यान्वयनकै अवस्थामा रहेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।
आचारसंहितामा तोकिएको समयमा नियमित रूपले कार्यालयमा हाजिर हुने, बिदा स्वीकृत भएपछि मात्रै बिदा बस्ने, शिष्ट र मर्यादित व्यवहार, जुवातास नखेल्ने, नैतिक आचारभन्दा बाहिरको व्यवहार नगर्ने उल्लेख छ ।