बुद्धि पुन, सल्यान । सल्यानमा सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सुविधा नभएपछि गर्भवतीहरू अर्को जिल्लावा सदरमुकामसम्म आउनुपर्ने बाध्यतामा परेका छन् ।
१० स्थानीय तह रहेको सल्यानमा जिल्ला अस्पताल, आधारभूत अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र लगाएत गरि ९५ स्वास्थ्य संस्था छन् । तर ती मध्य सरकारी तहको जिल्ला अस्पतालमा मात्रै भिडियो एक्सरे सेवा रहेको छ ।
भिडियो एक्सरे गर्नका लागि ग्रामिण भेगका गर्भवतीहरूलाई सदरमुकाम वा अर्को जिल्ला जानुपर्ने बाध्यता छ । गर्भ रहेको नरहेको थाहा पाउनदेखि गर्भसँग सम्बन्धित जोखिमहरूको पूर्वपहिचान गर्न र गर्भमा रहेको बच्चासँग सम्बन्धित विभिन्न जानकारीका लागि भिडियोएक्स–रे गर्नुपर्ने हुन्छ । तर यसका लागि सुविधा उपलब्ध छैन ।
जिल्ला अस्पताल सल्यानमा बाहेक जिल्लाका ९ निजी मेडिकलहरूमा भिडियो एक्स–रे सेवा छ । तर गाउँपालिकाका स्वास्थ्यचौकीहरूमा भिडियो एक्सरेको सेवा छैन । जसका कारण भिडियो एक्सरेकै लागि रुकुम, दाङ, सुर्खेत तथा नेपालगञ्जसम्म जाने गरेका छन् ।
जिल्ला अस्पताल सल्यानको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सल्यानमा ३ हजार २ सय ५५ महिला सुत्केरी भएका छन् । ति मध्य आधाले एकपटक पनि भिडियो एक्सरे नगरेको पाइएको छ । प्रत्येक स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा राख्नुपर्ने नागरिकको माग छ ।