Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पर पुरुषसँग प्रेम सम्बन्धको आरोपमा महिलालाई यातना

पर पुरुषसँग प्रेम सम्बन्धको आरोपमा महिलालाई यातना

इच्छाकामना न्युज

१७, आश्विन २०७७
पर पुरुषसँग प्रेम सम्बन्धको आरोपमा  महिलालाई यातना
images

हुम्ला- पर पुरुषसँग प्रेम सम्बन्धको आरोपमा हुम्लामा महिलालाई यातना दिइएको छ। सुन्दा पनि निकै कहाली लाग्ने क्रुर घटना हिमाली जिल्ला हुम्लामा घटेको छ । झट्ट सुन्दा पनि कहाली लाग्ने गरी आफ्नै श्रीमानको अगुवाईमा गाउँका सबै जम्मा भएर एक किशोरीलाई दिसा खुवाएका छन् ।

images
images

४ वर्षको छोरा र २ वर्षकी छोरीकी आमा ति किशोरीलाई गाउँकै देवर नाता पर्ने किशोरसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउनुका साथै कपाल मुण्डन गरिएको हो ।

जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर ७ ओख्रेनकी एक २३ वर्षिया किशोरीलाई देवर नाता पर्ने गाउँकै किशोरसँग सम्बन्ध राखेको आरोपमा गाउँलेले शुक्रबार दिउँसो एकै स्थानमा जम्मा भएर दिसा खुवाएका हुन् ।

आफ्नै छिमेकमा घर भएका देवर नाता पर्ने गाँदीराज शाहीसँगको टेलिफोनको कुराकानीलाई शारीरिक सम्बन्धका आधारमा लिएपछि जीन्दगीभर जीवन बिताउने कसम खाएका श्रीमान् धनबहादुर शाहीकै अगुवाईमा ती किशोरीलाई मरणासन्न हुने गरेर कुटपिट गर्नुका साथै कपाल समेत काटिएको छ ।

“शुरुमा ल्याएर दिसा खुवाए त्यसपछि सबैको अघि मेरो लामो कपाल काटे, जिल्ला प्रहरी कार्यालयको शरणमा पुगेकी ती पीडित किशोरीले भनिन्, गाउँकै देवर पर्नेसँग फोन कुरा गरेकै आधारमा मेरो यस्तो हालत भयो ।”

कपाल काटेपछि टाउँकोमा कपडा बेरेर बसेकी शाहीले गाउँका सबैले एकै ठाउँमा बोलाएर कालोमसो लगाउने, निर्घात कुट्नेदेखि हात खुट्टा बाँध्नेसम्मका काम गरेको बताइन् ।

१७ वर्षकै उमेरमा आमाबाबुलाई छोडेर आएको ६ वर्षको वैवाहिक जीवनमा पहिलो पटक घटेको क्रुर घटनाको कारण भने समान्य थियो ।

शुक्रबार बिहान ८ बजेबाट किशोरी र उनसँग सम्बन्ध भएको भनिएका किशोरलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नआउञ्जेलसम्म गाउँलेले अमानवीय व्यवहार गर्दै यातना दिए ।

केही गाउँलेले भने ज्यान जोगाउनुपर्छ भन्दै धारापोरी प्रहरी चौकीमा खबर गरे ।

प्रहरीको टोली पुग्दा दुवैजना मरेतुल्य मात्रै थिएनन्, अनुहार भरी कालो मोसो दलिएको, गलामा जुक्तीको माला लगाइएको र किशोरीका अधिकांश कपाल काटेर मुडुलो बनाइ हातखुट्टा बाँधेर लडाएको अवस्थामा भेटे ।

घटनाको खबर थाहा पाउने बित्तिकै धारोपोरी प्रहरी चौकीको टोली आएपछि दुवै जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

‘दोषीलाई कानूनी कारबाही गर्छौं’–प्रहरी

सम्बन्धको आशङ्कामै दिसा खुवाउने, महिलाको कपाल काट्ने जस्ता सामाजिक अपराध गर्ने व्यक्तीलाई कानून अनुसार कारबाही गर्ने जिल्ला प्रहरीले प्रतिवद्धता गरेको छ ।

उद्धार गरेर पीडित किशोर र किशोरीलाई सदरमुकाम सिमकोटमा ल्याएको प्रहरीले त्यस्तो अमानविय कार्यमा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले पीडितहरूलाई आफूहरूको संरक्षणमा राखिने र घटनाको बारेमा अनुसन्धान गरी दोषिलाई कडा कारबाही हुने बताउनुभयो ।

दोष भएपनि त्यसलाई कारबाही गर्ने कानून हुँदा हुँदै आफैंले कानून हातमा लिएर मनपरी गर्नु राम्रो नभएको भन्दै प्रहरी प्रमुख सुवेदीले घटनाको थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने बताउनुभएको हो ।

प्रहरी नायव उपरिक्षक सुवेदीले भन्नुभयो, “पीडितलाई संरक्षण गर्ने नीतिअनुसार हामीले पीडित दुवैजनालाई उद्धार गरेर जिल्ला प्रहरीको निगरानीमा संरक्षण दिने काम गरेका छौं । पीडकलाई भोली म्याद थपेर कानून हातमा लिन हुँदैन भन्ने शन्देश दिन कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।”

घटनामा संलग्नताका आधारमा शुरुमा श्रीमान् सहित ८ जनालाई नियन्त्रणमा ल्याएको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयले सोधपुछपछि आवश्यक परे अन्यलाई पनि पक्राउ गर्न सकिने जनाएको छ ।

घरमा देखिएको विवाद समाधानका लागि पारिवारीक छलफल वा मन नमिले कानुनी प्रक्रियाबाटै समाधानको वैधानिक बाटो कानूनले प्रदान गरेको छ । तर कानूनलाई नै हातमा लिएर गरिने यस्ता जघन्य अपराधका घटनाले समाजमा महिलामाथि हुने हिंसाको स्तरलाई प्रष्टै पारेको छ ।

स्रोत: CIN Khabar


images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - ०८:४४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology