चुम्लिङ्गटार । निवृत्त शिक्षक मधुविलास अधिकारी सम्मानित हुनुभएको छ । इच्छाकामना ३ चुम्लिङ्गटारस्थित रेन्वो होटलमा सम्पन्न निवृत्त शिक्षक समाज इच्छाकामनाको आजको भेलामा अधिकारी सम्मानित हुनुभएको हो ।
प्रमुख अतिथि इच्छाकामना ३ का वडाध्यक्ष नरबहादुर नेपाल र विशिष्ट अतिथि निवृत्त शिक्षक समाज जिल्ला समिति चितवनका सचिव एकराज शर्माले निवृत्त शिक्षक समाज इच्छाकामनाका जेष्ठ आजीवन सदस्य अधिकारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो ।
निवृत्त शिक्षक समाज इच्छाकामनाको शिक्षक भेलाले प्रति वर्ष नदोहोरिने गरि यस क्षेत्र भित्रका जेष्ठ सदस्यलाई सम्मान गर्ने निर्णय गरिएको थियो । सोही अनुसार अधिकारीलाई सम्मान गरिएको हो । यस कार्यक्रमलाई अध्यक्ष कृष्णप्रसाद पोखरेलले प्रायोजन गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान वडाध्यक्ष तथा समाजका सदस्य गोवर्धन अधिकारी, ऋषिराम अधिकारी, श्रीरेन्द्रप्रकाश पोखरेल लगायतको उपस्थिति रहनुभएको थियो ।
उक्त अवसरमा नि सि.स.को हाल सम्मको आय–व्यय प्रतिवेदन वाचन तथा सार्वजनिकरण सचिव विष्णुप्रसाद सापकोटाले गर्नुभएको थियो। अध्यक्ष कृष्णप्रसाद पोखरेलले जेष्ठ सदस्य मधुविलासका सार जीवनी तथा व्यक्ति परिचय प्रस्तुत गर्नुभएको थियो । सम्मानित व्यक्ति मधुविलास अधिकारीले यो सम्मानबाट आफू अत्यन्त गौरवान्वित भएको धारणा राख्नुहुँदै संस्थाप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथि समेत रहनुभएका जिल्ला समिति चितवनका सचिव एकराज शर्माले सम्मानित व्यक्तिलाई खादा र दोसल्ला भन्दा प्रमाणपत्र पछिसम्म स्थायी अभिलेखको रुपमा रहने बताउनुहुँदै सम्मान जस्तो विषयलाई पूर्व निर्णय बिनानै आज अपरझट निर्णय गरि प्रदान गरिएको कारण प्रमाणपत्र दिनमा त्रुटी रहेको बताउनुभयो ।
प्रमुख अतिथि वडाध्यक्ष नरबहादुर नेपालले आफ्ना गुरुहरूको कार्यक्रममा प्रमुख अतिथि जस्तो गरिमामय स्थान दिनुभएकोमा अत्यन्त खुसी व्यक्त गर्दै निवृत्त शिक्षक समाज इच्छाकामनाले आफ्नो निवृत जीवनमा आफ्नो संस्था मार्फत सक्रियता पूर्वक गर्नुभएको सकरात्मक कार्यको प्रसंशा गर्दै निवृत्त शिक्षक परिचय कोष इच्छाकामना प्रकाशित गर्न लागेकोमा खुसी व्यक्त गर्दै सो प्रकाशनमा गाउँपालिकाबाट साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निवृत्त शिक्षक समाज इच्छाकामनाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव विष्णु सापकोटाले संचालन गर्नुभएको थियो ।