काठमाण्डौ । पछिल्लो समय मानव बेचविखन तथा ओसारपसारका उजुरीको सङ्ख्यामा कमि आएको छ । गत ४ वर्षमा मानव बेचविखन तथा ओसारपसारका उजुरीको सङ्ख्यामा ४४ प्रतिशतले कम भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको तथ्याङ्कले देखाएको छ ।
आर्थिक बर्ष २०७५÷७६ मा २५८ वटा मानब बेचबिखनको मुद्धा दर्ता भएकोमा गत आर्थिक बर्षमा ४४ प्रतिशतले घटेर एक सय ४५ मुद्धा दर्ता भएका छन् । तर यो अघिल्ला आर्थिक वर्षको तुलनामा भने ८ प्रतिशतले बढि हो ।
ब्यूरोका अनुसार गत ४ वर्षमा ६ सय ७३ वटा मानब बेचबिखन तथा ओसारपसारका उजुरी दर्ता भएका छन् । जसमा ९ सय ८९ जना पिडित छन् भने १ हजार ४ सय ५२ जना अभियुक्त रहेका छन् । जसमध्ये प्रहरीले ८ सय ८१ जना अभियुक्तलाई पक्राउ गरेको छ भने ५ सय ७९ जना फरार रहेको व्युरोका प्रवक्ता दान बहादुर मल्लले सीआईएनसँग बताउनुभयो ।
ब्यूरोका अनुसार मानव बेचबिखनमा पर्नेहरूमा १ सय जना पुरूष रहेका छन् भने ८ सय ९९ जना महिलाहरू रहेका छन् । मानव बेचबिखनका कृयाकलापमा संलग्न हुनेहरूमा ६३ प्रतिशत पुरूष रहेका छन् भने ३७ प्रतिशत महिलाहरू रहेका छन् ।
अधिकारर्मी तथा मानव बेचविखन विरुद्धका अभियन्ता सुनिता दनुवारले मानव बेचबिखन तथा ओसारपसार रोक्न यो विषय पाठ्यपुस्तकमै समावेस गरेर बालबालिकालाई सचेत गराउन जरुरी रहेको बताउनुभयो ।
पछिल्ला ४ वर्षमा पक्राउ पर्नेहरुमा पनि बढि पुरूष अभियुक्त छन् । पक्राउ पर्नेमा ६ सय २२ जना पुरूष रहेका छन् भने महिलाको सङ्ख्या दुई सय ८१ जना रहेको ब्युरोका प्रवक्ता मल्लको भनाइ छ । ब्युरोका अनुसार उजुरीको सङ्ख्यामा कमी आएको भए पनि मानव बेचबिखनका घटनामा भने कमी नआएको मानव बेचबिखन विरुद्ध अभियानमा लागेका अधिकारकर्मीहरूको दाबी छ ।