चितवन । आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले नेपालमा पानी पर्ने क्रम हिजो अस्तिको भन्दा कम भएको छ । तर पनि पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा आजपनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। यस्तै आज राति लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले बर्दियामा पनि ठूलो पानी परेपछि बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ ।