काठमाण्डौ । अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपालले सधैं एक चीन नीतिको समर्थन गरेको बताउनुभयो । पछिल्लो घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको उहाँको भनाइ रहेको थियो ।
दुवै देशले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ लम्सालले भन्नुभयो, नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं ।अमेरिका सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो सर्वभौमिकतामाथिको आक्रमण भनेको छ ।
यसैबीच,नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज विहान गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको थियो ।
भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताउनुभयो । गृहमन्त्री खाणले नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपदको व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।