काठमाण्डौ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले हिजो महिला साफको खेल तालिका सार्वजनिक गरेको हो।
सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जस अनुसार समूह ‘बी’ नेपालसहित भुटान र श्रीलङ्का रहेका छन् ।
यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।