निशु जोशी, नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले पूर्वी मुल नहरमा पानी सञ्चालन गरेपछि बाँकेको राप्तीसोनारी ६ र ७ का किसानले राहत महसुस गरेका छन् । निर्माण सुरु भएको करिब १७वर्षपछि आयोजनाले पहिलोपटक परीक्षणका लागि पूर्वी नहरमा पानी छोडेको हो ।
९ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्येश्यले निर्माण भइरहेको ४४ किलोमिटर पूर्वी मुल नहरमध्य हाल परीक्षणका लागि २४ किलोमिटरसम्म पानी सञ्चालन गरिएको छ ।
बाँकेको राप्ती नदी अगैयादेखि २४ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मुल नहरबाट पहिलो पटक पानी पुगेपछि नहरमा आएको पानी हेर्न स्थानीयवासीको भिड लागेको थियो ।
राप्तीसोनारी गाँउपालिका वडा नम्बर ६ र ७ मा डेढ दशकको पर्खाइमा पहिलो पटक सिक्टाको नहरमार्फत पानी पुगेपछि स्थानीय खुशी भएका छन् । धानको बीउ सुक्न लागेको बेला सिक्टाले पानी सञ्चालन गरेपछि यस क्षेत्रमा धमाधम रोपाई सुरु भएको छ ।
२०७६ सालमा राजकुलो सिँचाइ प्रणाली अन्र्तगत यस क्षेत्रमा करिब एक हजार हेक्टरमा सिँचाइ सुविधा छ । तर सिँचाइ नभएको क्षेत्रमा छोडिएको पानीले फत्तेपुर सिँचाइ प्रणाली अन्तर्गत २ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने अनुमान छ ।
यसबाट वडा नम्बर ६ र ७ का १९ हजार ५ सय २१ जनसङ्ख्या लाभान्वित हुनेछन् । फत्तेपुर, बैजापुर र विनौनामा कृषि सम्भावना भएकाले पानी नियमित भएमा ३ बालीसम्म उत्पादन गर्न सकिने सम्भावना रहेको गाँउपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।
आयोजनाले पूर्वी नहर निर्माणको काम हालसम्म ८६ प्रतिशत सम्पन्न भएको जनाएको छ । पूर्वी मुल नहर, राजकुलो र फत्तेपुर सिँचाइ प्रणाली निर्माणका लागि आयोजनाले कालिका र कुमार जेभिबीच २०७४ साउन ९ गते ठेक्का सम्झौता गरेको थियो ।
आगामी माघ २९ गतेसम्म नहर निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । यो सकिए लगत्तै ५३ किलोमिटरमध्य पूर्वी नहरको बाँकी ९ किलोमिटरको नरैनापुर खण्डमा काम सुरु हुने छ ।