अविनाश आचार्य, काठमाडौँ । एक सय वर्षको इतिहास बनाएको त्रिचन्द्र क्याम्पस खण्डहर बन्दै गएको छ । पटकपटकको भूकम्पले क्षतविक्षत बनाएको त्रिचन्द्र क्याम्पसको मुख्य भवन २०७२ पछि प्रयोगविहीन छ ।
त्यहाँका २७ वटै विभाग र कक्षाकोठाहरू सरस्वती सदनमा सारिएको छ । देशभरबाट अध्ययनका लागि झण्डै आठ हजार नयाँ विद्यार्थी हरेक वर्ष त्रिचन्द्र आउने गरेका छन् भने त्यहाँ रहेका १२ हजार विद्यार्थीलाई सरस्वती सदनमा अटाउनुपर्ने बाध्यता छ । १ सय वर्षअघि १४ महिना लगाएर बनाइएको भवन सात वर्षदेखि पुनर्निर्माण पर्खँदै गर्दा झन भग्नावशेषमा परिणत हुँदै गएको छ ।
राजनीतिक स्वार्थमा अल्झिएकै कारण योजना अलपत्र परेको क्याम्पस प्रमुख सुनिल अधिकारीले बताउनुभयो । शिक्षा मन्त्री देवेन्द्र पौडेल भने त्रिचन्द्रको पुनर्निर्माणका बारेमा सकारात्मक छलफल भइरहेको बताउनुहुन्छ ।
विज्ञान र मानविकी सङ्काय पढ्न चाहने देशभरका विद्यार्थीको पहिलो रोजाई अझैँ पनि त्रिचन्द्र क्याम्पस हुन्छ । तर भविष्य खोज्दै यहाँ आइपुग्नेहरूलाई भौतिक संरचनाको अभाव र क्याम्पसको अस्तित्व मेटिने चिन्ताले थप पिरोल्ने गरेको छ ।