Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना अस्पताल निर्माण

जग्गा प्राप्तिको प्रक्रिया नपुर्‍याई हचुवाको भरमा निर्माण सुरु गर्दा इच्छाकामना अस्पताल निर्माणको काम २ वर्षदेखि अलपत्र

जग्गा प्राप्तिको प्रक्रिया नपुर्‍याई हचुवाको भरमा निर्माण सुरु गर्दा इच्छाकामना अस्पताल निर्माणको काम २ वर्षदेखि अलपत्र

तात्कालिन जनप्रतिनिधिको अपरिपक्क निर्णयले अस्पताल निर्माणको काम अन्यौलमा

चित्र बहादुर गुरुङ

९, श्रावण २०७९
जग्गा प्राप्तिको प्रक्रिया नपुर्‍याई हचुवाको भरमा निर्माण सुरु गर्दा इच्छाकामना अस्पताल निर्माणको काम २ वर्षदेखि अलपत्र
images

कुरिनटार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले स्थानीय नागरिकहरुलाई गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका वि.सं. २०७७ सालमा २५ शैय्याको अस्पताल निर्माणको काम सुरु गर्‍यो । सामान्य बाहेक अन्य स्वास्थ्य सुविधा लिन परे जिल्ला सदरमुकाम भरतपुर जानुपर्ने वाध्यता रहेको स्थानीय नागरिकमा विशेषज्ञ सुविधा सहित गाउँमै सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि निकै उत्साह जागेको थियो। तर नागरिकको त्यो उत्साह र सपना यतिबेला भने अलपत्र परेको छ ।

images
images

तात्कालिन समयमा अस्पताल निर्माण सुरु गर्दा पुर्‍याउनुपर्ने विभिन्न मापदण्डहरु पुरा नगरी हचुवाको भरमा निर्णय गरि अस्पतालको भवन निर्माण थाल्दा सुरु गरेको २ वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन सकेको छैन । 

गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ को निति, कार्यक्रम तथा बजेटमा ५० लाख रुपैयाँ वजेट विनियोजन गरि इच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति क्याम्पसको पछाडि पट्टि सार्वजनिक जग्गामा अस्पताल निर्माणको काम सुरु गरेको थियो । उक्त समयमा टेण्डर प्रक्रिया गरि भवन निर्माणको काम सुरु गरेका थिए। उतिबेलै भवनको जग राख्ने काम समेत सकिएको थियो। तर बिचमा जग्गाको स्वामित्वको विषयमा टुंगो लाग्न नसकेपछि हालसम्म पनि भवन निर्माणले पूर्णता पाउन सकेको छैन।

गाउँपालिकाले सार्वजनिक जग्गा भनेर निर्माण सुरु गरेको उक्त जग्गा वन कार्यालयले वन क्षेत्र भित्रको जग्गा भन्दै अस्पताल निर्माणको लागि रोकिदिएपछि अलपत्र परेको हो। करिब १० करोड लागत लाग्ने अनुमानका साथ निर्माण सुरु गरिएको अस्पतालको भवन निर्माणको काम सुरु गर्नु भन्दा पहिले नै जग्गा अस्पतालको आफ्नो स्वामित्वमा ल्याउनुपर्नेमा तात्कालिन जनप्रतिनिधी र कर्मचारीहरुले कमजोरी गरेको देखिन्छ । 

यद्यपी तात्कालिन समयमा गाउँपालिका अध्यक्ष रहेकी गीताकुमारी गुरुङले भने यस सन्दर्भमा आफुहरुको कमजोरी नभै गाउँपालिका भित्र रहेका कुनैपनि जग्गाहरु गाउँपालिकाले जुनसुकै प्रयोजनको लागि पनि प्रयोग गर्न सकिने भएकोले आफुहरुले नागरिकको सुविधाको लागि तात्कालिन समयमा अस्पताल निर्माण थालेको बताए। तर पछि अस्पतालको नाममा जग्गाको स्वामित्व लिने प्रयास गर्दा नसकिएको भने उनले स्वीकार गरे। उनले भने ‘अब त्यो अस्पताल निर्माणको काम पूरा गर्ने दायित्व अहिलेको सरकारको हो।’

तर तात्कालिन नेतृत्वले गरेको कमजोरीका कारण नयाँ नेतृत्वलाई समेत अस्पताल निर्माणको काम पूरा गर्न अप्ठ्यारो परेको नवनिर्वाचित गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए। उनले भने ‘सबैभन्दा पहिले जग्गा अस्तालको स्वामित्वमा ल्याउनु पथ्र्यो, त्यसो नगरी भवन निर्माण गर्नु तात्कालिन नेतृत्वको कमजोरी हो, यहि कारण अस्पताल निर्माणमा समस्या सिर्जना भएको हो।’ उनका अनुसार उतिबेलै जग्गाको टुंगो लगाएको भए यतिबेलासम्म अस्पताल निर्माण भएर पनि संचालन भैसक्नेथ्यो ।

‘तात्कालिन समयमा जग्गाको स्वामित्व ल्याउन लागिपरेको भए कि उक्त जग्गाको स्वामित्व पाईन्थ्यो नभए अर्को वैकल्पिक जग्गाको समेत व्यवस्था गर्न सकिन्थ्यो । अहिले लाखौ रुपैयाँ बजेट खर्च भैसकेको उक्त जग्गा न छोडेर अर्को स्थानमा अस्पताल निर्माण गर्न सकिन्छ, न जग्गाको स्वामित्व लिन सकिन्छ ।’ –उनले भने । यद्यपी जग्गाको स्वामित्व अस्पतालको नाममा ल्याउने प्रयास भने जारी रहेको उनले बताए।

त्यस्तै यहि आर्थिक वर्ष भित्रमा जसरी भएपनि अस्थायी भवन निर्माण गरि १५ बेडको इच्छाकामना अस्पतालको सेवा भने सुरु गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए । उनले भने ‘तत्कालको लागि अस्थायी संरचना निर्माण गरि इच्छाकामना अस्पतालको सेवा सुरु गरिनेछ भने रोकिएको भवन निर्माणको काम समेत जग्गा प्राप्तिको प्रक्रिया पुरा गरि सुरु गर्नेछौ।’

इच्छाकामना अस्पताल निर्माण भएमा इच्छाकामनासहित गोर्खाको गण्डकी र शहीद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका जनतालाई समेत सेवा दिनसक्छ । यस्तै काठमाडौँ भित्रने र बाहिरीने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने देखिन्छ। 

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - २०:५७:१५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology