काठमाण्डौ । सरकारले सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट देवनागरी लिपीमै राख्ने भएको छ । अङ्ग्रेजीमा लेखिएको इम्बोस्ड नम्बरप्लेटमा विवाद भएपछिभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालीमै लेख्ने तयारी गरेको हो ।
नम्बरप्लेट देवनागरी वा अङ्ग्रेजी र देवनागरी दुवै लिपी राख्ने कानुनी व्यवस्था गर्न कानुन मन्त्रालयमा लिखित पत्र पठाएको र अबको १/२ दिनमा यसबारे मन्त्रालयले सुझाव पठाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमोहम्मद इश्तियाक राईले बताउनुभयो । कानुन मन्त्रालयले अनुसूची हेरफेर गरेपछि मन्त्रीपरिषद्बाट निर्णय गरि कानुनी बाटो खुलाउने तयारी भइरहेको मन्त्री राईले बताउनुभयो ।
सरकारी कामकाजको भाषा देवनागरी लिपी भएकाले नम्बरप्लेटमा नेपाली अक्षर हुनुपर्ने भन्दै अधिवक्ता भरतकुमार बस्नेतले फागुन २०७४ मा रिट दर्ता गराउनु भएको थियो । रिट परेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै नम्बरप्लेट जडान कार्य रोकेको थियो । उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउने बाटो खुलेको हो ।
सर्वोच्चले विद्यमान प्रचलित कानुनबमोजिम फैसला गरेका कारण कानुन संशोधन गरेर देवनागरी लिपि प्रयोग गर्न लागिएको मन्त्री राईले बताउनुभयो ।