काठमाण्डौ । चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि नेपाल मेडिकल काउन्सिलले चार बुँदे निर्णय गरेको छ । काउन्सिलले चीनमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चार बुँदे निर्णय गरेको हो ।
विद्यार्थीहरूलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसीप गरी जम्मा दुई वर्षको चिकित्सकीय अभ्यास तथा तालिमको व्यवस्था गर्ने निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, एक वर्षे अनिवार्य इन्टर्नसीप नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप ट्रेनिङ २००७ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पुरा गर्नुपर्ने, इन्टर्नसीपभन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा ४ वटा प्रमुख विषयहरु मेडिसिन, सर्जरी, गाइनेअब्स र पेडियाट्रिक्स समावेश गर्नुपर्ने निर्णयमा उल्लेख छ ।
चीनमा अध्ययनरत चिकित्सा शिक्षाका बिद्यार्थीहरूको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधि बारे कुनै द्विविधाभए नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर निजहरूको अपुग अध्ययन अवधि एकिन गरेरमात्र अध्ययन सुरू गर्ने भनिएको छ ।