जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज निधन भएको छ । जापानको नारामा भाषण गर्ने क्रममा गोली लागेर उपचारका क्रममा रहनुभएका ६७ वर्षका आबेको निधन भएको उहाँको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका छन् । आबेको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको थियो । उहाँ पर्सि आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गर्दै हुनुहुन्थ्यो ।
अचानक गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढल्नुभएको थियो । प्रहरीले आबेलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो । ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ । गोली हान्नुको कारण भने खुलेको छैन ।
आबे इतिहासमा सबैभन्दा लामो समय सम्म जापानका प्रधानमन्त्री रहनुभएको थियो । उहाँले स्वास्थ्यको कारण देखाउँदै सन् २०२० मा पदबाट राजीनामा दिनुभएको थियो ।