उषा तामाङ, काठमाडौँ, १६ असार । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो भागमा झरीसँगै बाढी, पहिरोका घटना भइरहेका छन् । यस वर्ष अधिक वर्षा हुनसक्ने अनुमान गरिएसँगै प्रदेश सरकारहरूले उद्धारका लागि हेलिकप्टरसहितको जनशक्ति तयारी अवस्थामा राखेको दाबी गरेका छन् । विपदका घटना भइहालेमा प्रदेश विपद कोषबाट रकम खर्च गरिनेछ ।
सम्पुर्ण प्रदेशले उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखेको छ भने सेनाको हेलिकप्टर प्रयोग गर्न प्रक्रिया लामो हुने भएका कारण निजी हेलिकप्टरको समेत प्रयोग गर्नसक्ने गरि व्यवस्था गर्न लागिएको गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले जानकारी दिनुभयो । राहत तथा उद्धारका सामग्रीसहितको गोदाम सात वटै प्रदेशमा स्थापना गरिएको छ ।
सुरक्षाकर्मीसहित स्वयमसेवी उद्धारकर्तालाई तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनका समयमा आउन सक्ने बाढी पहिरो र विभिन्न खाले विपद्ले २० लाख जनसङ्ख्या प्रभावित हुने आङ्कलन गरिसकेको छ । मनसुनजन्य विपद्का घटनाका कारण यसवर्ष पाँच लाखभन्दा बढी मानिसलाई उद्धार वा राहतको आवश्यकता पर्नसक्ने अनुमान सरकारले गरेको छ ।