इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आफ्ना रुसी र युक्रेनी समकक्षीलाई शान्ति कायम गर्न वार्ताको विकल्प खुला राख्न आग्रह गर्ने बताउनु भएको छ । उहाँले रुसी राष्ट्रपतिलाई तत्काल युद्ध विरामको आदेश दिन आग्रह गर्ने बताउनुभएको हो ।
उहाँले जर्मनीबाट युक्रेन र रसियामा शान्ति मिसन सुरु गर्ने पनि बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोमिदिर जेलेन्स्कीसँग भेट गर्ने र युद्धविरामका लागि पहल गर्ने उहाँको भनाई छ ।
त्यसपछि रसिया जाने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने योजना रहेको पनि उहाँले सुनाउनुभएको छ । इन्डोनेसियाका नेताले रुसी आक्रमणपछि शान्ति स्थापना गर्न र विश्वव्यापी खाद्य सङ्कट र ऊर्जा सङ्कटको तत्काल समाधान खोज्न आफूले शक्तिशाली ७ देशहरूलाई प्रोत्साहन गर्ने बताउनुभयो ।