आँबुखैरेनी, ११ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी वर्षदेखि गाउँपालिका भित्रको शिक्षामा व्यापक परिवर्तन गर्ने भएको छ । जसको लागि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम गाउँपालिकाको शिक्षामा आमुल परिवर्तनका लागि विभिन्न कार्यक्रमहरु समावेश गरेको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा इन्टर्नशीपको व्यवस्था, हरेक वर्षको पालिका स्तरीय शैक्षिक प्रदर्शनी, गाउँपालिकाबाट चिकित्साशास्त्र अध्ययनको लागि छात्रवृत्ति व्यवस्थाका साथै छात्रवृत्तिमा अध्ययन पश्चात अनिवार्य रुपमा २ वर्ष आँबुखैरेनी अस्पतालमा काम गर्नुपर्ने करार सम्झौताको व्यवस्था गर्ने कार्यक्रम समावेश छ ।
यस्तै गाउँपालिकाको एकमात्र उच्च शिक्षा अध्ययन गराउने संस्था आँबुखैरेनी क्याम्पसमा नियमित अनुदान शिक्षकको व्यवस्था साथै क्याम्पसमा बि.बि.ए., बि.आइ.सि.टि. तथा प्राविधिक विषय अध्यापनको व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने, गाउँपालिका भित्र एक प्राविधिक विषयमा अध्यापन गराईने सि.टि.ई.भि.टी.बाट मान्यता प्राप्त प्राविधिक शिक्षालयको व्यवस्था गर्न पहल गरिने लगायतको रहेको छ ।