आँबुखैरेनी, ११ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले मेडिकल डाक्टरको व्यवस्था सहित १५ शैय्याको आँबुखैरेनी अस्पताल संचालनमा ल्याउने भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रममा हालको आँबुखैरेनी स्वास्थ्य चौकीको सेवा विस्तार गरि मेडिकल डाक्टरको व्यवस्था सहित १५ शैय्याको आँबुखैरेनी अस्पताल संचालनमा ल्याउने कुरा पहिलो बुदाँमै समेटिएको छ ।
अस्पतालमा आकस्मिक सेवा, आधारभुत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीको समेत व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ ।
यस्तै स्वास्थ्य कार्यक्रम तर्फ ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक स्वास्थ्य परिक्षण, ७० वर्ष माथिका ज्येष्ठ नागरिक र सुत्केरीलाई अस्पतालको निःशुल्क सेवा, क्यान्सरको रोगीहरुलाई एक पटकको लागि ५० हजार नगद सहयोग, निःशुल्क स्क्रिनिङको व्यवस्था, ग्रामिण भेगमा टेलिमेडिसिन विधिबाट विशेषज्ञ सेवा विस्तार लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।