भारतमा सेनाको लागि नयाँ अल्पकालीन भर्ति नीतिविरुद्ध १३ राज्यमा विरोध प्रदर्शन भइरहेको छ । सरकारले सेनामा अल्पकालीन भर्ति गर्ने सम्बन्धी नीति लिएपछि भारतको बिहार, उत्तर प्रदेश, तेलङ्गना, पञ्जाब, राजस्थान लगायत १३ राज्यमा विरोध भइरहेको छ ।
विरोधले हिंश्रक रुप लिएपछि बिहार राज्यको १२ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ भने नीतिको विरोध स्वरुप आज बिहार बन्दको घोषणा पनि गरिएको भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । भारत सरकारले भारतीय सेनाका तीन वटै प्रमुखमा छोटो समय अवधिका लागि नियुक्ति गर्ने भन्दै ‘अग्निपथ’ नीतिको घोषणा गरेको छ ।
यस नीतिमा सेनामा भर्ना हुने व्यक्तिको उमेर १७ देखि २१ वर्षको हुने छन् भने शैक्षिक योग्यता १० कक्षा वा १२ कक्षा उत्तिर्ण भएको हुनुपर्छ । यस नीतिमार्फत् जागिरमा भएको कार्यकाल ४ वर्षको लागि मात्रै हुनेछ । जागिर अवधिमा प्रदर्शनको आधारमा मूल्याङ्कन हुने र २५ प्रतिशत मानिसलाई निरन्तरता दिइने छ । अग्निपथ नीतिमार्फत् ९० दिनभित्र ४० हजार युवालाई सेनामा भर्ना गरेपछि ६ महिनासम्म तालिम दिइने छ ।