केही दिनयता विभिन्न देशमा मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएसँगै विश्व समुदायमा चिन्ता बढेको छ । इजरायल, स्विट्जरल्याण्ड र अष्ट्रियामा पनि मोन्कीपक्स पुष्टि भएसँगै यो पुष्टि हुने देशको सङ्ख्या १५ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ८० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेको छ भने ५० बारे अनुसन्धान भइरहेको छ ।
’मन्किपक्स’ मध्य तथा पश्चिमी अफ्रिकाका विकट भागहरूमा बढी मात्रामा देखापर्ने भएकाले त्यस क्षेत्रमा पुग्नेहरूले यसलाई अन्यत्र सार्ने गरेको पाइएको छ । यो भाइरस सजिलैसँग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भएकाले ठूलो सङ्ख्यामा मानिसमा फैलिने जोखिम न्यून हुन्छ ।
यस रोगको पहिलो केस ७ मेमा बेलायतमा देखिएको थियो ।छालामा खटिरा र ज्वरो आउनु, टाउको र माशंपेशी र ढाड दुख्नु, थकान महशुस हुनु तथा जिउ सुन्निनु आदि यसका लक्षण हुन् ।