कुरिनटार, १३ वैशाख । वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको सबै पदमा उम्मेद्वारी दिने दल नेकपा एमाले मात्रै बनेको छ। एमालेले अध्यक्ष, उपाध्यक्ष लगायत सबै पदमा उम्मेद्वारी दिएको छ।
निर्वाचन अधिकृतको कार्यालय इच्छाकामनाले प्रकाशन गरेको मनोनयन दर्ताको नामावली अनुसार एमालेले अध्यक्ष, उपाध्यक्षका साथै ७ वटै वडामा वडाध्यक्ष, वडा सदस्य, वडा महिला सदस्य, वडा दलित महिला सदस्य गरी ३७ जनाले उम्मेद्वारी दिएका छन्। जसमा वडा नं. १ को दलित महिला सदस्यमा निर्विरोध समेत भएको छ।
यस्तै सत्ता गठबन्धन गरेको नेपाली काँग्रेस, माओवादी केन्द्र र समाजवादीबाट पनि वडा नं. १ को दलित महिला सदस्य बाहेक अरुमा पार्टी भागवण्डा अनुसार उम्मेद्वार उठाएको छ।
नामावली अनुसार नेपाली काँग्रेसले अध्यक्षका साथै वडा नं. ४, ५, ६ र ७ मा वडाध्यक्षमा उम्मेद्वारी दिएको छ भने वडा नं. १ मा खुल्ला र महिला सदस्य गरी २ जना सदस्यमा उम्मेद्वारी दिएको छ।
वडा नं. २ मा काँग्रेसबाट खुल्ला सदस्य र महिला सदस्य गरी २ जना, वडा नं. ३ मा खुल्ला सदस्य र महिला सदस्य गरी २ जना, वडा नं. ४ मा खुल्ला सदस्य र दलित महिला सदस्यमा गरी २ जना, वडा नं. ५ मा खुल्ला सदस्य, महिला सदस्य, दलित महिला सदस्य गरि ४ जना, वडा नं. ६ मा खुल्ला सदस्य र दलित महिला सदस्य गरि २ जना र वडा नं. ७ मा खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि ४ जनाले उम्मेद्वारी दिएका छन्। यसरी हेर्दा नेपाली काँग्रेसको भागमा २३ जनाले उम्मेद्वारी दिएका छन्।
यसैगरी माओवादी केन्द्रले उपाध्यक्ष सहित वडा नं. १, २ र ३ मा वडाध्यक्षको उम्मेद्वारी दिएको छ भने वडा नं. १ मा खुल्ला सदस्य र महिला सदस्य गरी २ जना, वडा नं. २ मा खुल्ला सदस्य र दलित महिला सदस्य गरि २ जना, वडा नं. ३ मा खुल्ला सदस्य र दलित महिला सदस्य गरी २ जना, वडा नं. ४ मा दलित महिला सदस्य १ जना, वडा नं. ५ मा खुल्ला सदस्यमा १ जना, वडा नं. ६ मा खुल्ला सदस्यमा १ जना र वडा नं. ७ मा खुल्ला सदस्यमा २ जनाले उम्मेद्वारी दिएका छन्। जस अनुसार सो पार्टीबाट १५ जनाले उम्मेद्वारी दिएको देखिन्छ।
उता एमाले टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीबाट वडा नं. २ मा खुल्ला सदस्यमा १ जना, वडा नं. ३ मा खुल्ला सदस्य १ जना, वडा नं. ४ मा खुल्ला सदस्य १ जना, वडा नं. ५ मा खुल्ला सदस्य १ जना, वडा नं. ६ मा महिला सदस्य १ जना र वडा नं. ६ मा महिला सदस्य १ जना गरि जम्मा ६ जनाले उम्मेद्वारी दिएका छन्। यद्यपी नेकपा एसको प्रभाव इच्छाकामनामा नभएकोले वडा नं. ४ को १ जना बाहेक अन्य वडाका सो पार्टीको उम्मेद्वारी माओवादी केन्द्रकै रहेको स्रोतले जानकारी दिएको छ।
यस्तै गत स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा मात्र उम्मेद्वारी दिएको नेपाल मजदुरी किसान पार्टीले यसपटक अध्यक्ष सहित वडा नं. ७ को वडाध्यक्ष, खुल्ला र महिला सदस्यमा गरि ५ जनाले उम्मेद्वारी दिएका छन्।
स्थानीय तह निर्वाचनमा इच्छाकामनामा पहिलो पटक भाग लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि वडा नं. ३, ४, ५ र ६ को वडाध्यक्षमा उम्मेद्वारी दिएको छ। यसैगरी वडा नं. ५ मा महिला सदस्य, दलित महिला सदस्य गरी २ जना, वडा नं. ६ मा खुल्ला सदस्य, महिला सदस्य २ जना गरी ८ जनाले उम्मेद्वारी दिएका छन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा भाग लिएको मध्य मधेशी जनाधिकार फोरम र नयाँ शक्ति पार्टी दुवै मर्ज भएर बनेको जनता समाजवादी पार्टीले भने यसपटक कुनैपनि पदमा उम्मेद्वारी परेको छैन।
स्वतन्त्रबाट भने गाउँपालिका अध्यक्षमा २ जना, वडा नं. ३ मा १ जना वडाध्यक्ष, वडा नं. ५ को वडाध्यक्षमा २ जनाको उम्मेद्वारी परेको छ।