गोरखा, १२ वैशाख । स्थानीय तह निर्वाचनको लागि मनोयन दर्ता गर्ने पहिलो दिन जिल्लाको शहिद लखन गाउँपालिकामा १ जना स्वतन्त्र र गण्डकी गाउँपालिकामा दुई पार्टीका ७ जनाले मात्र उम्मेद्वारी दर्ता गरेको छ।
शहिद लखन गाउँपालिकाको निर्वाचन अधिकृत बिमल आचार्यले दिएको जानकारी अनुसार वडा नं. ३ को वडाध्यक्षका लागि स्वतन्त्रबाट १ जनाको उम्मेद्वारी परेको छ।
यस्तै गण्डकी गाउँपालिकामा भने मनोनयन दर्ताको पहिलो दिन दुई पार्टीबाट ७ जनाको उम्मेद्वारी परेको गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिएको छ। उनका अनुसार आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र मंगोल नेशनल अर्गनाईजेशनका उम्मेद्वारले मात्र उम्मेद्वारी दर्ता गरेका छन्।
जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्षमा अम्बिका रुपाखेतीले उम्मेद्वारी दर्ता गरेका छन् भने उपाध्यक्षमा १ जना वडा नं. ७ र ८ को वडाध्यक्षमा १÷१ जना, ८ को वडा महिला सदस्य र दलित महिला सदस्यमा उम्मेद्वारी परेको छ।
यसैगरी मंगोल नेशनल अर्गनाईजेशनबाट गाउँपालिका अध्यक्षमा गंगा बहादुर रानाले उम्मेद्वारी दर्ता गरेका छन् ।
यसैबिच गोरखाको गण्डकी गाउँपालिकामा आजसम्म १ जनामात्र वहालवाला जनप्रतिनिधिले पदबाट राजिनामा दिएका छन्। स्थानीय तहको निर्वाचनमा उम्मेद्वार हुन चाहने वहालवाला जनप्रतिनिधिले राजिनामा दिनुपर्ने भएपनि अहिलेसम्म गण्डकीमा कार्यपालिका सदस्य पहलमान बयलकोटीले मात्र राजिनामा बुझाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले जानकारी दिए।