गोरखा, १६ असोज
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ ले मासु किनबेच गर्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ।
वडाभित्र पशुपन्छी काटमार गर्ने, मासु बेचबिखन गर्ने र किन्ने जोकोहिलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुने वडा अध्यक्ष पेमा डुन्डुप लामाले बताउनुभयो।
कोही कसैले काटमार गरेको घटनाबारे सूचना दिए १५ हजार रुपैयाँ इनाम दिने निर्णय समेत भएको छ। यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइ सकेको उहाँले बताउनुभयो।
उहाँका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ। वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ।